काठमाडौं । लगातारको भारी वर्षापछि थाइल्यान्डको राजधानी बैंककमा भीषण बाढी आएको छ । बाढीले घर, सडक र बजार डुबानमा पारेपछि करिब ४ हजार ९ सय जनालाई सुरक्षित आश्रयस्थलमा सारिएको छ भने ५२ हजारभन्दा बढी घरपरिवार प्रभावित भएका छन् ।
बैंककका सबै ५० जिल्लालाई बाढी प्रभावित क्षेत्र घोषणा गरिएको छ । केही क्षेत्रमा पछिल्ला तीन दिनमा ३३० मिलिमिटरभन्दा बढी वर्षा भएपछि नहरको पानी सतह बढेको र सडक तथा बस्तीमा बाढी पसेको हो ।
विस्थापितका लागि विद्यालयलगायत स्थानमा अस्थायी आश्रयस्थल बनाइएको छ । बाढीका कारण सयौँ विद्यालय बन्द गर्ने तयारी गरिएको छ भने प्रभावित क्षेत्रमा अत्यावश्यकबाहेक यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
बाढीको पानी घटाउने प्रयास भइरहे पनि थप वर्षाको सम्भावना रहेकाले जोखिम कायमै रहेको अधिकारीहरूले बताएका छन् । यस घटनाले वर्षायाममा तीव्र वर्षा र डुबानको जोखिम झनै गहिरिँदै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?