युक्रेन युद्धमा ४७ देशका नागरिक संलग्न भएको जेलेन्स्कीको दाबी
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका नागरिकलाई लडाकूका रूपमा प्रयोग गरिरहेको दाबी गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले रुससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका दुई सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको बताएका छन् ।
जेलेन्स्कीले नेपाल, भारत र घानालगायत देशका नागरिक रुसी पक्षबाट युद्धमा संलग्न रहेको दाबी समेत गरेका छन् । जेलेन्स्कीका अनुसार सन् २०२५ मा रुसको कुस्र्क क्षेत्रमा पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकलाई हालै दक्षिण कोरिया पठाइएको हो । यद्यपी दक्षिण कोरियाको विदेश मन्त्रालयले सैनिकहरूलाई युक्रेनबाट दक्षिण कोरिया पठाइएको विषयमा पुष्टि भने गरेको छैन ।
यसैबिच, जेलेन्स्कीले फिनल्यान्ड, अस्ट्रेलिया तथा अन्य साझेदारसँग ड्रोन र सुरक्षा सहकार्य विस्तार भइरहेको बताएका छन् । क्यानाडासँग पनि ड्रोनसम्बन्धी सम्झौताको तयारी भइरहेको उनले जानकारी दिएका छन् ।
आगामी हिउँदमा रुसी ताप तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्न सक्ने चेतावनी दिँदै जेलेन्स्कीले रुसले युक्रेनका नागरिक ताप तथा इन्धन पूर्वाधारमा आक्रमण गर्दै आएको दाबी गरेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस र युक्रेनलाई एकअर्काको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न वासिङ्टनले दबाब दिइरहेको बताउनुभएको केही घण्टापछि जेलेन्स्की यस्तो भनाइ आएको हो ।
जेलेन्स्कीले युक्रेनको उद्देश्य रुसको पेट्रोल तथा डिजेल आपूर्ति नष्ट गर्नु नभई युद्धका लागि आवश्यक आम्दानीको प्रमुख स्रोतमा असर पार्नु रहेको स्पष्ट पारेका छन् । रुससँगको व्यापारबाट प्राप्त आम्दानीले युद्ध लम्बिन सक्ने दाबी गर्दै व्यापार सीमित गर्न आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?