काठमाडौं । यमनमा पछिल्लो समय हिंसा तीव्र बनेसँगै नागरिक विस्थापन बढेको छ । संयुक्त राष्ट्रसङ्घीय निकायका अनुसार अगस्टयता पश्चिमी तट र आसपासका क्षेत्रमा मात्रै १ लाख ३० हजारभन्दा बढी मानिस घर छाडेर विस्थापित भएका छन् ।
संघर्ष बढ्दै जाँदा विस्थापित परिवारलाई आश्रय, खाद्यान्न, पानी र स्वास्थ्य सेवाको अभाव थप चर्किएको मानवीय सहायता निकायहरूले जनाएका छन् । संयुक्त राष्ट्रसंघले यमनमा २२ करोडभन्दा बढी मानिसलाई मानवीय सहायता आवश्यक रहेको र पछिल्लो हिंसाले संकटको दायरा अझ फराकिलो बनेको जनाएको छ ।
हिंसाको प्रत्यक्ष असर यमनको कमजोर स्वास्थ्य प्रणालीमा समेत परेको छ । घाइतेको चाप बढेपछि सीमित अस्पतालले आकस्मिक उपचारमा प्राथमिकता दिनुपरेको छ भने प्रसूति तथा अन्य नियमित स्वास्थ्य सेवासमेत प्रभावित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले मूल्याङ्कन गरिएका स्वास्थ्य सेवा केन्द्रमध्ये करिब ६० प्रतिशत मात्र पूर्णरूपमा सञ्चालनमा छन् । पूर्ण आपत्कालीन ट्रमा उपचार सेवा उपलब्ध हुने स्वास्थ्य संस्था भने निकै कम छन् ।
विस्थापित बस्तीमा भीडभाड, सुरक्षित खानेपानीको अभाव र कमजोर सरसफाइका कारण हैजा तथा अन्य संक्रामक रोग फैलिने जोखिमसमेत बढेको छ । स्वास्थ्य सामग्री र औषधिको मौज्दात घट्दै जाँदा प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवा पुर्याउन कठिनाइ भइरहेको संयुक्त राष्ट्रसङ्घीय निकायहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?