संजीवनी महिला कृषि सहकारीको १३औं वार्षिक साधारण सभा सम्पन्न, कृषि पर्यटनदेखि जैविक मलसम्मका योजना
काठमाडौं । चन्द्रागिरिमा रहेको संजीवनी महिला कृषि सहकारी संस्था लिमिटेडको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ‘संजीवनी महिला कृषि सहकारीको अभियान ः स्वाधीन अर्थतन्त्र, उज्ज्वल भविष्यको पहिचान’ भन्ने नारासहित संस्थाले साधारण सभा सम्पन्न गरेको हो ।
नगर कार्यपालिका सदस्य सवना कार्कीले संस्थाको आर्थिक अवस्था बलियो बनाउन नयाँ सदस्य थप्ने तथा समयअनुसार ब्याजदरमा पुनरावलोकन गर्नुपर्ने बताउनुभयो । उहाँले संस्थाको खुद नाफा बढाउन स्पष्ट रणनीति बनाएर उत्पादनमुखी कार्यक्रम विस्तार गर्न सुझाव दिनुभयो ।
संस्थाकी अध्यक्ष सुनमाया श्रेष्ठले कृषि सहकारी चन्द्रागिरि नगरपालिकाकै पहिलो सहकारी भएकोले स्थानीय कृषक तथा महिलालाई केन्द्रमा राखेर कृषि उत्पादन र आर्थिक गतिविधिमा काम गर्दैआएको बताउनुभयो । उहाँले संस्थाको कार्यक्षेत्रभित्र सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले सोही अनुसार कार्यक्रम संचालन गर्दैआएको बताउनु भयो ।
संस्थाका सचिव पम्पा श्रेष्ठले न्यून आय भएका श्रमजीवी कृषक तथा महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले संस्था स्थापना गरिएको बताउनुभयो । उहाँले चन्द्रागिरि क्षेत्रमा महिलाको नेतृत्वमा संचालन भइरहेको कृषि सहकारीका रूपमा एक मात्र संस्था संजीवनी कृषि सहकारी भएको र संस्थाले स्थापनाकालदेखि नै किसानहरुको पक्षमा काम गर्दैआएको उल्लेख गर्नुभयो ।
कोषाध्यक्ष ज्योति पौडेलले देशको सहकारी क्षेत्रमा देखिएका चुनौतीका बीच कृषि सहकारीलाई आर्थिक रूपमा सबल र दिगो बनाउनु संस्थाको मुख्य प्राथमिकता रहेको बताउनुभयो ।
साधारण सभाले आगामी वर्ष कृषि उत्पादन र उद्यमशीलता प्रवद्र्धन गर्ने विभिन्न कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । कृषि अभियानकर्मी तथा महिला उद्यमीसँग सहकार्य गरी संस्थाको १३ वर्षे गतिविधि समेटिएको स्मारिका प्रकाशन गर्ने र सम्बन्धित क्षेत्रका विज्ञसँग अन्तरक्रिया गर्ने योजना बनाइएको छ ।
त्यस्तै, विभिन्न प्रजातिका तरकारीका बिरुवा तथा बीउबिजन वितरण, कृषि उद्यमी तथा व्यावसायिक महिलाका लागि उद्यम विकास र सचेतना कार्यक्रम संचालन गर्ने योजना पनि अघि सारिएको छ । संस्थाले ‘संजीवनी कृषि पर्यटन विकास बोर्ड’ स्थापना गरी कृषि पर्यटनसम्बन्धी अध्ययन तथा अनुसन्धान अघि बढाउने प्रस्तावसमेत गरेको छ । जैविक मल उत्पादन, प्रयोग तथा बजारीकरणसम्बन्धी तालिम संचालन गरी सम्बन्धित आधिकारिक संस्थासँग सहकार्य गर्ने योजना पनि साधारण सभाले अघि बढाएको छ ।
कृषि उत्पादन, महिला उद्यमशीलता र स्थानीय आर्थिक गतिविधिलाई सहकारी अभियानसँग जोडेर संस्थाको आगामी गतिविधि अघि बढाउने प्रतिबद्धता सभामा व्यक्त गरिएको थियो ।
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन, आगामी कार्ययोजना, आर्थिक वर्ष २०८२-०८३ को आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा वार्षिक बजेट प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक सदस्य, सल्लाहकार, शेयर सदस्य, शुभेच्छुक तथा चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधि, कृषि विज्ञलगायतको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?