काठमाडौं । चन्द्रागिरि नगरपालिका–७ मा रहेको पुण्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा–६ का वडाध्यक्ष सञ्जय सिग्देलले सहकारी संस्थाले अब उत्पादन र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले घरजग्गा तथा सवारीसाधनको कारोबारमा केन्द्रित हुने प्रवृत्तिभन्दा स्थानीय उत्पादन, उद्यम र रोजगारी प्रवद्र्धनमा लगानी गर्न सहकारी सञ्चालकलाई आग्रह गर्नुभयो ।
वडा अध्यक्ष सिग्देलले सहकारीलाई सर्वसाधारण, विशेषगरी निम्न आय भएका नागरिकको आर्थिक सहयात्रीका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । चन्द्रागिरि क्षेत्रका सहकारीमध्ये पुण्योदयमा आफूले हालसम्म त्यस्तो समस्या नदेखेको उल्लेख गर्दै उहाँले स्थानीय व्यक्तिहरूको नेतृत्व र व्यवस्थापनले सदस्यको विश्वास कायम राख्न सहयोग पुगेको बताउनुभयो ।
संस्थाका अध्यक्ष सानुकाजी खड्गीले सहकारी स्थापना भएदेखि नै बचतकर्ताको विश्वासलाई प्राथमिकतामा राखेर संस्था संचालन गर्दै आएको बताउनुभयो । उहाँले २७ जना सदस्यले जनही एक लाख रुपैयाँ शेयर लगानीबाट सुरु गरेको संस्था दश वर्षसम्म आईपुग्दा करिब २२ करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष खड्गीले पुण्योदय सहकारीलाई आर्थिक रूपमा सक्षम व्यक्तिको मात्र नभई विपन्न तथा निम्न आय भएका व्यक्तिहरुलाई समेत सहयात्री बनाउने उद्देश्यले काम गर्दै आएको बताउनुभयो । सदस्यको विश्वास र संचालक समितिको जिम्मेवारीपूर्ण भूमिकाले छोटो समयमा नै संस्था अघि बढ्न सफल भएको दाबी गर्नुभयो ।
साधारण सभामा संस्थाको प्रगति, आर्थिक गतिविधि तथा आगामी योजनाका विषयमा समेत छलफल गरिएको थियो । कार्यक्रममा उत्कृष्ट बचतकर्ता तथा ऋणी सदस्यलाई दोसल्ला, प्रमाणपत्र र मायाको चिनोसहित सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?