काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहार आजदेखि सुरु भएको छ । मधेसका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा तिहारको पहिलो दिन धनतेरस मनाउँदै घरघरमा दीपमालिका गर्ने तयारी गरिएको छ । धातुका नयाँ भाँडाकुँडा तथा गरगहना खरिद गरी लक्ष्मीको पूजा गर्ने मैथिल परम्पराले पर्वको सुरुआतलाई विशेष बनाएको छ ।
मिथिला क्षेत्रमा कात्तिक कृष्णपक्ष त्रयोदशीको साँझ दीप प्रज्वलन गरी धनतेरस मनाउने चलन छ । यस दिन धनधान्यकी देवी लक्ष्मीलाई प्रसन्न पार्ने विश्वासका साथ नयाँ धातुका भाँडा, गरगहना, खरेटो तथा धनियाँलगायत सामग्री किन्ने परम्परा रहेको मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाले बताउनुभयो । उहाँले तिथिको घटबढका कारण यस वर्ष तिहार छ दिनसम्म मनाइने जानकारी दिनुभयो ।
पञ्चाङ्गअनुसार आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु भई भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ । सूर्योदयमा द्वादशी भए पनि मध्याह्नअघि त्रयोदशी सुरु हुने भएकाले आजै धनतेरस मनाइने झाले जानकारी दिनुभयो । त्रयोदशीकै दिन मनाइने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ ।
मैथिल परम्पराअनुसार आइतबार चतुर्दशीका दिन बिहान कुकुर पूजा र साँझ लक्ष्मीपूजा गरिनेछ । त्यसपछि दीपावलीका विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि हुँदै आगामी बुधबार भैयादूज मनाएसँगै तिहार समापन हुनेछ । मिथिला क्षेत्रमा चाडपर्व, तिथिश्राद्ध र शुभकार्यको निर्धारण मिथिला पञ्चाङ्ग तथा विद्यापति पञ्चाङ्गका आधारमा गर्ने परम्परा रहिआएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?