यमनमा राष्ट्रपति भवनलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
काठमाडौं । यमनको अदेनस्थित राष्ट्रपति भवन अल मासिक प्यालेसलाई लक्षित गरी हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । बिहीबार भएको आक्रमणमा प्रधानमन्त्री साया अल–जिन्दानीको सुरक्षा टोलीका दुई सदस्यसहित सरकारी परिसरमा कार्यरत व्यक्तिहरू मारिएको यमनको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।
सीएनएनका अनुसार हुथी विद्रोहीले राष्ट्रपति भवन परिसरमा पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए । मिसाइल र ड्रोनबाट समेत हमला भएको बताइएको छ । हुथी समूहले भने राष्ट्रपति भवन परिसरमा रहेको साउदी सैन्य अभियान केन्द्रलाई लक्षित गरिएको दाबी गरेको छ ।
आक्रमणका बेला प्रधानमन्त्री साया मोहसेन अल–जिन्दानीसहित केही मन्त्री तथा उच्चपदस्थ अधिकारी राष्ट्रपति भवन परिसरमा रहेको बताइएको छ । उनीहरू सबै सुरक्षित रहेको विवरणमा उल्लेख छ । यद्यपि, आक्रमणबाट भवन परिसरमा पुगेको क्षतिको विस्तृत विवरण यमन सरकारले सार्वजनिक गरेको छैन ।
यमनमा सन् २०१४ देखि जारी द्वन्द्वका कारण देशको राजनीतिक तथा सुरक्षा अवस्था अस्थिर छ । त्यस वर्ष हुथी विद्रोहीले राजधानी साना कब्जा गरेपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले अदेनलाई आफ्नो अन्तरिम राजधानीका रूपमा प्रयोग गर्दै आएको छ । साउदी अरबले यमन सरकारलाई सहयोग गर्दै हुथी विद्रोहीविरुद्धको सैन्य अभियानमा सहभागिता जनाउँदै आएको छ ।
हुथी समूहले अदेनमा भएको आक्रमणलाई साउदी सैन्य उपस्थिति रहेका स्थानलाई निशाना बनाउने आफ्नो रणनीतिको हिस्सा भएको जनाएको छ । यमन सरकारले यसै महिनाको सुरुआतमा हुथीविरुद्ध ‘यमेन्स डन’ नामक सैन्य अभियान सुरु गरेको विवरणका बीच पछिल्लो आक्रमण भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?