एजेन्सी । बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको छ । आक्रमणका क्रममा एउटा जहाज डुबेको बुल्गेरियाको सरकारी सूचना सेवाले जनाएको छ ।
बुल्गेरियाका प्रधानमन्त्री रुमेन रादेवका अनुसार एउटा जहाजमा स्थानीय समयअनुसार मंगलबार बिहान करिब १ः३० बजे बायला सहरबाट १८ समुद्री माइल पूर्वमा आक्रमण भएको थियो । ‘चेल्सी ३’ नामक उक्त जहाज माल्टाको झन्डामा सञ्चालन भइरहेको थियो । युक्रेनको ओडेसामा दर्ता भएको उक्त जहाज युक्रेनी स्वामित्वमा रहेको प्रधानमन्त्री रादेवले जानकारी दिएका छन् । जहाजका चालक दलका सदस्यहरूका अनुसार तीनवटा हवाई ड्रोनले जहाजमाथि आक्रमण गरेका थिए ।
जहाजमा सवार युक्रेनका सात र अजरबैजानका आठ गरी १५ जना चालक दलका सदस्यलाई बुल्गेरियाली अधिकारीहरूले सकुशल उद्धार गरेका छन् ।
यसैगरी, क्रापेत्स सहरबाट करिब १७ समुद्री माइल पूर्वमा अर्को व्यापारिक जहाजमाथि पनि आक्रमण भएको जानकारी अधिकारीहरूले प्राप्त गरेका थिए । उक्त जहाज डुबेको र त्यसमा सवार चालक दलका एक सदस्यलाई उद्धार गरिएको सरकारी सूचना सेवाले जनाएको छ ।
बुल्गेरियाको तट नजिकै एक साताभित्र व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको यो दोस्रो घटना हो । यसअघि अक्टोबर ६ मा बायलाबाट करिब ७० समुद्री माइल पूर्वमा, बुल्गेरियाको विशेष आर्थिक क्षेत्रमा, अज्ञात ड्रोनको आक्रमणबाट एउटा व्यापारिक जहाज डुबेको थियो भने अर्को जहाजमा आगलागी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?