काठमाडौं । बाजुराका नागरिकले विभिन्न प्रकारका प्रमाणित सिफारिस लिन अब जिल्ला सदरमुकाम मार्तडी धाउनुपर्ने बाध्यता हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले अनलाइन माध्यमबाट वडा कार्यालयमार्फत नै सिफारिस उपलब्ध गराउने व्यवस्था सुरु गरेपछि विशेषगरी दुर्गम क्षेत्रका बासिन्दालाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले सरकारी सेवालाई सहज, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको जानकारी दिनुभयो । उहाँले भौगोलिक तथा आर्थिक कठिनाइ भोगिरहेका नागरिक, दलित, जनजाति र खस आर्य समुदायका सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा गरी आफ्नै वडा कार्यालयबाट सेवा लिन सक्ने बताउनु भयो ।
यसअघि विभिन्न प्रमाणित सिफारिस लिन नागरिकले आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने अवस्था थियो । जिल्लाको भौगोलिक विकटताका कारण सदरमुकाम पुग्न लामो समय लाग्ने, यातायात र अन्य खर्च बढ्ने समस्या सेवाग्राहीले झेल्दै आएका थिए । नयाँ व्यवस्थाले नागरिकको समय र खर्च बचत गर्नुका साथै सरकारी सेवालाई स्थानीय तहसम्म सहज रूपमा पुर्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
नयाँ प्रक्रियामा सेवाग्राहीले आवश्यक निवेदन, नागरिकताको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्नुपर्नेछ । वडा कार्यालयले ती कागजात जिल्ला प्रशासन कार्यालयको इमेलमार्फत पठाउनेछ । त्यसपछि प्रशासन कार्यालयले आवश्यक जाँचबुझ गरी सिफारिस तयार पारेर इमेलबाटै सम्बन्धित वडा कार्यालयमा पठाउने व्यवस्था मिलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?