काठमाडौं । बाढीपहिरोका कारण बन्द भएको म्याग्दीको बेनी नगरपालिका–४ स्थित प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसंचालनमा आएको छ । कुण्डमा थुप्रिएको हिलो, बालुवा र गेग्रान श्रमदानमार्फत हटाएर स्नान गर्न मिल्ने बनाएपछि बुधबारदेखि सेवा पुनःसुरु गरिएको हो ।
असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले कुण्डका विभिन्न संरचनामा क्षति पुर्याएको थियो । म्याग्दी नदी किनारमा रहेको कुण्डको मुख्य तथा माथिल्लो पोखरीमा लेदो थुप्रिएपछि स्नान सेवा बन्द गरिएको थियो । पुनःसंचालनको पहिलो दिन २५ जनाले स्नान गरेको व्यवस्थापन समितिले जनाएको छ । दशैँपछि कुण्डमा स्नान गर्न आउनेको संख्या बढ्ने अपेक्षा गरिएको छ ।
बाढीपहिरोले उपचारका लागि प्रयोग हुने ठूलो पोखरीमा लेदो थुपारेको छ भने पर्यटकका लागि बनाइएको सानो पोखरी भत्किएको छ । कपडा फेर्ने भवन, तातोपानी भण्डारण गर्ने ट्याङ्की रहेको भवन र खुला स्नानस्थलमा समेत क्षति पुगेको छ । मुख्य पोखरीलाई तत्काल संचालनयोग्य बनाइए पनि अन्य संरचनाको मर्मत तथा पुनःनिर्माणका लागि आवश्यक स्रोत जुटाउने प्रयास भइरहेको छ ।
व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बाढीपहिरोबाट कुण्डमा दुई करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको र पुनःनिर्माण तथा संरक्षणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग सहयोग माग गरिएको बताउनुभयो । कुण्ड सफाइ तथा पुनःसंचालनका लागि स्थानीयवासी, युवा क्लब, आमा समूह, नेपाली सेना, सशस्त्र प्रहरी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसहितले श्रमदान गरेका थिए ।
असोज र कात्तिक तातोपानी कुण्डमा स्नान गर्ने मुख्य समय मानिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?