काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ३ थानकोटस्थित शोणितपुर तेक्वान्दो डोजाङले वर्ष २०८२ का उत्कृष्ट खेलाडीलाई सम्मान गरेको छ । बडादशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदानसहित आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिएको हो ।
डोजाङका अध्यक्ष राम श्रेष्ठ र कार्यक्रमका प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका नगर प्रमुखले खेलाडीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो । वर्षको उत्कृष्ट खेलाडी नियोमी महर्जन, वर्षको ऊर्जाशील खेलाडी लाक्पा दोर्जे लामा र वर्षको अनुशासित खेलाडीबाट दीपिका तामाङ सम्मानित भएका छन् ।
कार्यक्रममा बागमती पेट्रोलियम डिलर्स एसोसिएसनका ईश्वर लामा दिनेश महर्जन, थानकोट सिटी अफ ड्रिम्सका अध्यक्ष अभिज्ञान गोपाली तथा चाःगा तेक्वान्दो डोजाङका अध्यक्ष नरेश शिख्राकारको उपस्थिति रहेको थियो ।
खेलाडीको मेहनत, अनुशासन र उपलब्धिको कदर गर्दै उनीहरूलाई थप उत्साहित बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको डोजाङले जनाएको छ । यस्ता कार्यक्रमले खेलाडीमा आत्मविश्वास र खेलप्रतिको समर्पण बढाउनुका साथै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न प्रेरणा मिल्ने विश्वास लिइएको छ ।
डोजाङले तेक्वान्दो खेलको विकास, अनुशासित खेलाडी उत्पादन र खेलकुदमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?