काठमाडौं । नेपालीको महान् पर्व बडादशैँ सुरु भएसँगै गाउँघरमा चाडपर्वको चहलपहल बढ्न थालेको छ । रोजगारी र अध्ययनका लागि घरबाहिर रहेका मानिस गाउँ फर्कने क्रम बढे पनि दशैँको उमङ्गसँग जोडिएको परम्परागत पिङ राख्ने चलन भने बिस्तारै हराउँदै गएको छ । कुनै समय दशैँको पहिचानजस्तै बनेका लिङ्गेपिङ र रोटेपिङ अहिले गाउँघरमै कम देखिन थालेका छन् ।
चाडपर्वमा पुराना साथीभाई र आफन्तसँग भेट हुँदा रमाइलो लागे पनि मौलिक परम्परा हराउँदै जाँदा दशैँ पहिले जस्तो उत्साहपूर्ण हुन छाडेको छ । रोजगारीका लागि गाउँ छाडेर अन्यत्र पुगेका व्यक्तिहरु घर फर्किए पनि चाडपर्वसँग जोडिएका सांस्कृतिक गतिविधि जोगाउन नसक्दा पर्वको मौलिकता कमजोर हुँदै गएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता कृष्णप्रसाद खड्गी भन्नुहुन्छ, ‘परम्परागत रूपमा बाँसका खम्बा गाडेर बाबियोको डोरी प्रयोग गरी लिङ्गेपिङ बनाई पिङलाई सयपत्री र अन्य फूलले सजाइने गरिने परम्परा रहेको थियो । दशैँका बेला बालबालिकादेखि वृद्धवृद्धासम्म पिङ खेल्न जम्मा हुन्थे । विशेषगरी युवायुवतीमा पिङप्रति आकर्षण बढी हुने गथ्र्यो । दशैँको टीकाका दिन कम्तीमा एकपटक पिङ खेलेर जमीन छाड्नुपर्ने जनविश्वास अझै पनि गाउँघरमा प्रचलित नै रहेको बताउँछन् ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष भाईकृष्ण तामाङले बजार क्षेत्रमा सार्वजनिक स्थानको अभाव र मनोरञ्जनका नयाँ विकल्प बढ्दै जाँदा पिङ राख्ने परम्परा ओझेल पर्दैै गएको बताउनु भयो । पहिले टोलटोलमा पिङ राखिने भएपनि अहिले गाउँमा खोज्दा पनि पिङ भेट्न मुस्किल हुन थालेको तामाङ बताउँछन् ।
यस्तै चन्द्रागिरि नगरपाकालि वडा नम्बर ५ का वडा अध्यक्ष राजेन्द्र महर्जनले पहिलेको दशैँ र अहिलेको दशैंमा चाडपर्व मनाउने तरिका निकै फरक भइसकेको बताउँछने । उहाँले पहिले दशैं आउनुभन्दा एक साताअघिदेखि नै पिङका लागि बाँस र लिङ्गा खोज्ने, बाबियोबाट डोरी बाट्ने तथा आवश्यक सामग्री जुटाउन दौधधुप हुने गर्थ्यो । गाउँका मान्छेहरु मिलेर पिङ तयार पार्ने र सामुहिक रुपमा रमाइलो गर्ने चलन अहिले कमजोर हुँदै गएको बताउँछन् ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष शिवकुमार महर्जनले चाडबाड भन्ने वित्तिकै पहिले ठूला देखि सानासम्म उत्साह हुने तर अहिले समय र परिस्थितिले विस्तारै आफुनो धर्म, सस्कृति र परम्परा लोप हुँदै गएको बताउँछन् । बडा दशैं हिन्दु नेपालीहरुको घरघरमा आईसके पनि दशैंमा छुट्टै रौनक थप्ने पिंङ विस्थापित हुँदै गएको उल्लेख गर्छन् ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष घनश्याम लुइँटेलले पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोग, मनोरञ्जनका वैकल्पिक माध्यम र सामूहिक रूपमा परम्परा जोगाउने अभ्यासमा आएको कमीले पिङ संस्कृतिमा प्रभाव परेको बताउँछन् ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सञ्जय सिग्देलले दशैँ र तिहारजस्ता चाडसँग जोडिएका मौलिक परम्परागत गतिविधिप्रति चासो घट्दै जानु सांस्कृतिक निरन्तरताका लागि चुनौती भएको बताउँछन् ।
पिङ केवल मनोरञ्जनको साधन मात्र नभई गाउँघरमा सामूहिक सहभागिता, आपसी सद्भाव र पुस्ताबीचको सांस्कृतिक सम्बन्ध जोड्ने माध्यम पनि भएको अध्यक्ष सिग्देलको दाबी छ । उहाँले दशैँको रौनकसँगै हराउँदै गएको पिङ संस्कृतिलाई जोगाउन समुदाय, स्थानीय तह र नयाँ पुस्ताको सक्रियता आवश्यक रहेको बताउँछने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?