प्रदेशका अधिकार र संघीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूको साझा चासो
काठमाडौं । कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ ।
उद्घाटन समारोहमा मुख्यमन्त्रीहरूले मन्तव्य राख्दै सहकार्य, समन्वय र सहअस्तित्वलाई जोड दिएका छन् । सम्मेलनमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयताबाट प्राप्त उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई बलियो बनाउनुपर्ने धारणा राखेका छन् । उनले कतिपय पूरा हुन नसकेका जनअपेक्षामा टेकेर भ्रम सिर्जना गरिएको बताउँदै तथ्यगत रूपमा भ्रमलाई चिर्दै समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले नेपालको संविधानले निर्दिष्ट गरेका अधिकारहरू हस्तान्तरण गर्न आलटाल गरेको बताउँदै प्रहरी ऐन र निजामती ऐन छिटो ल्याउन आग्रह गरेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयतालाई बलियो बनाउनेतर्फ यसअघिको सरकारको नेतृत्व गरेका दलहरूले नसकेको चर्चा गर्दै पटकपटक आवाज उठाउँदा पनि आश्वासन मात्रै पाएको उल्लेख गरे । अहिले प्रदेश संरचनामाथि प्रहार भइरहेको चर्चा गर्दै पाण्डेले प्रशासनिक खर्च अन्य तहको तुलनामा न्यून हुँदा पनि यसलाई सेतो हात्ती भनेर चर्चा गरिने गरेको बताए ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले जलवायु परिवर्तन र यसले पारेको प्रभावका विषयमा प्रदेश सरकारहरूको धारणा र नीति एउटै हुनुपर्ने उल्लेख गरेका छन् । जलवायु परिवर्तनका मुद्दामा प्रदेशहरू एक हुनुपर्नेमा थापाको जोड छ ।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशहरूको सहकार्य र साझा अवधारणा बनाएर विकास र समृद्धिलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै अन्तरप्रदेश साझा लगानीका विषय खोजेर काम गर्नुपर्ने बताए ।
सम्मेलनको सभापति कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अब प्रदेश सरकारहरूले गुनासो मात्रै गरेर होइन, आफ्नो अधिकारभित्र रहेर काम पनि अगाडि बढाउनुपर्ने अवस्था रहेको बताए । संघीयता कार्यान्वयनमा देखिएका जटिलताका विषयमा निष्कर्ष निकाल्दै प्रधानमन्त्रीसम्म पुर्याएर छलफल गरिने उनको भनाइ छ ।
कोशी प्रदेशको आयोजनामा भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन बुधबारसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?