काठमाडौं । नवरात्रको चौथो दिन घरघरका दशैँघर तथा पूजा कोठामा नवदुर्गामध्ये चौथो स्वरूपकी देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल चतुर्थीका दिन देवी कुष्माण्डाको उपासना गर्ने धार्मिक परम्परा छ ।
देवी कुष्माण्डाले भक्तजनका आध्यात्मिक, आधिभौतिक र आधिदैविक अर्थात् जीवनका तीन प्रकारका ताप तथा कष्ट निवारण गर्नुहुने धर्मग्रन्थमा उल्लेख छ । दुर्गा सप्तशतीको देवी कवचमा पनि त्रिविध तापयुक्त संसारलाई आफ्नो उदरमा धारण गर्ने भगवतीका रूपमा कुष्माण्डाको वर्णन गरिएको छ । नवरात्रमा उहाँको आराधना गर्दा शक्ति, ऐश्वर्य र ज्ञान प्राप्त हुने विश्वास गरिन्छ ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेर देवी शैलपुत्रीको पूजा सुरु गरिएको थियो । दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना गरिएको थियो। नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ। यस अवधिमा दसैँघरमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा स्तोत्र पाठ गरिन्छ ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा पूजाआराधना र दर्शनका लागि भक्तजन पुग्ने गर्छन्। काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, कलंकीमाई, बज्रयोगिनीलगायत मन्दिरमा विशेष पूजा हुने परम्परा छ । उपत्यकाबाहिर पलाञ्चोक भगवती, मनकामना, गढीमाई, छिन्नमस्ता, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी र उग्रतारालगायत शक्तिपीठमा पनि नवरात्रमा श्रद्धालुको चहलपहल बढ्ने गर्छ ।
वैदिक सनातन परम्पराअनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष आराधना गरिन्छ । त्यसपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर दशैँ मनाउने चलन छ । यसरी नवरात्रसहित १५ दिनसम्म बडादशैँ पर्व मनाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?