मुस्ताङबाट ३० प्रतिशतमात्र स्याउ निकासी, बाढीपहिरोपछि सडक अवरुद्ध मुख्य कारण
काठमाडौं । हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ ।
असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो । सडक अवरुद्ध भएपछि उत्पादित स्याउ गत वर्षको यसै समयको तुलनामा ज्यादै कम निकासी भएको छ । उक्त सडक सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ ।
यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अवरुद्धका कारण व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या परेको छ । अहिलेसम्म ७० प्रतिशत बजारमा पठाइसक्नुपर्नेमा ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको स्थानीयले बताएका छन् ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका अनुसार यस वर्ष १० हजार मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ । गत वर्ष सात हजार मेट्रिक टन उत्पादन भएको थियो । उत्पादन वृद्धि भएकाले यस वर्ष झन्डै दुई अर्बको स्याउ बिक्री हुने अनुमान छ । भारी वर्षाले अवरुद्ध बेनी—जोमसोम सडक मर्मतपछि सडक सञ्चालन भए पनि उक्त सडक पूर्ण रुपमा सहज भने अझै भइसकेको छैन । तर, यहाँका किसानले बजारमा स्याउको बिक्री गर्ने याम घर्किन लागेको हुँदा अहिले धमाधम स्याउ टिपेर बजार पठाउन थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?