चाडपर्वको सुरक्षामा साढे ३ हजार प्रहरी परिचालन, सादा पोसाकदेखि तालिमप्राप्त कुकुरसम्मको प्रयोग
काठमाडौं । दशैँ, तिहार र छठलगायतका चाडपर्वलाई सुरक्षित बनाउन काठमाडौं उपत्यकामा ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्दै नागरिकलाई ढुक्कसँग पर्व मनाउने वातावरण तयार गर्न प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले परिचालित प्रहरीमध्ये १ सय जना सादा पोसाकमा खटिएका छन् । उनीहरूले बजार, सार्वजनिकस्थल र भीडभाड हुने क्षेत्रमा निगरानी गरी शंकास्पद गतिविधि पहिचान तथा सम्भावित अपराध नियन्त्रणमा सहयोग गर्नेछन् । सुरक्षालाई थप प्रभावकारी बनाउन नियमित गस्तीका साथै ड्रोन क्यामेरा, सामुदायिक सेवा केन्द्र, सामाजिक सञ्जाल र तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिने प्रहरीले जनाएको छ ।
चाडपर्वका समयमा किनमेल गर्ने, घर फर्किने तथा आफन्तकहाँ आवतजावत गर्ने नागरिकको संख्या बढ्ने भएकाले बजार, बसपार्क, सार्वजनिक यातायात, वित्तीय संस्था, सरकारी कार्यालय र अन्य सार्वजनिकस्थलमा सुरक्षा निगरानी बढाइएको छ । सर्वसाधारणले रकम तथा बहुमूल्य सामग्री बोकेर यात्रा गर्ने समयमा हुन सक्ने पाकेटमारी, चोरी, ठगी र लुटपाट नियन्त्रण गर्न प्रहरी टोलीलाई सक्रिय बनाइएको छ ।
प्रहरीले उपत्यकालाई १४ वटा सेक्टरमा विभाजन गरी सुरक्षा योजना लागू गरेको छ । सम्बन्धित प्रहरी वृत्तका प्रमुखले आ–आफ्नो क्षेत्रको सुरक्षा व्यवस्थाको निगरानी गर्नेछन् भने जिल्ला प्रहरी परिसरले समग्र परिचालन र अनुगमन गर्नेछ । परिसर प्रमुख तथा वरिष्ठ प्रहरी अधिकृतसमेत सुरक्षा योजनाको कार्यान्वयनमा संलग्न रहने प्रवक्ता थापाले जानकारी दिनुभयो ।
चाडपर्वका समयमा सार्वजनिकस्थल र यातायातका केन्द्रमा मानिसको चहलपहल बढ्ने भएकाले सुरक्षा व्यवस्थामा नागरिकको सहयोग पनि महत्त्वपूर्ण हुने प्रहरीले जनाएको छ । घर तथा सम्पत्तिको सुरक्षामा ध्यान दिन, अपरिचित व्यक्तिको शङ्कास्पद गतिविधिप्रति सचेत रहन र कुनै शङ्कास्पद घटना देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?