कुमार बेन : सिंहदरबारभित्रको मान्छे, ज्वागलको घर र एउटा रहस्यमय कथा
मान्छे जहाँ जान्छ, छायाँ त्यहीँ पुग्छ, त्यसैले त मानिसहरू सोध्छन् — ‘बालेनको दिमागमा चलिरहेको सफ्टवेयर आखिर कसले लेख्छ ?’
झुस्स कपाल, घाँटीमा रुद्राक्ष, हातमा सामसुङको फोन, चेक सर्ट, खुट्टामा सामान्य जुत्ता । हेर्दा लाग्छ—काठमाडौंको कुनै कफी पसलको कुनामा बसेर कोडिङ गरिरहेको कम्प्युटरको किरा होला तर अलि नजिकबाट हेर्नुभयो भने कथा अर्कै छ, त्यही मान्छे अहिले प्रधानमन्त्रीको कार्यालयभित्र छ, त्यही मान्छे प्रधानमन्त्रीको कानसम्म पुग्छ । त्यही मान्छेको फोनमा कहिलेकाहीँ देशको राजनीतिका ठूला–ठूला मान्छेका नम्बर बज्छन् । र त्यही मान्छेको ज्वागलस्थित घरमा कहिलेकाहीँ नेपालको राजनीतिका ठूलठूला खेलाडीहरू पस्छन्, ढोका बन्द हुन्छ, कुराकानी चल्छ र बाहिर निस्कँदा राजनीतिको हावा अलि अर्कै दिशामा बगेको देखिन्छ ।
नाम हो—कुमार बेन, कुमार व्यञ्जनकार, आज प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार तर उनको कथा प्रधानमन्त्री कार्यालयबाट सुरु भएको होइन, यो कथा त त्यसभन्दा धेरै अगाडिको हो, बालेनले काठमाडौंको सडकमा बुल्डोजर चलाउनुअघि, बालेनले चुनावी मैदानमा पाइला राख्नुअघि, बालेनको नाम काठमाडौंको मेयरको उम्मेदवारका रूपमा चर्चामा आउनुअघि, त्यतिबेलादेखि एउटा मान्छे उनीसँग थियो, धेरै अगाडि होइन ।
अलि छेउमा, तर सधैँ छेउमै, कुमार बेन । नेपालमा प्रधानमन्त्रीका सल्लाहकार भनेपछि हाम्रो आँखामा एउटा पुरानो तस्बिर आउँछ, कोट, टाई, चम्किलो जुत्ता, ठूलो गाडी, अगाडि सुरक्षाकर्मी, पछाडि सहयोगी, हातमा बाक्लो फाइल र अनुहारमा यस्तो भाव – ‘प्रधानमन्त्रीसँग मेरो भेट छ कतिपय त प्रधानमन्त्रीको कुर्सीभन्दा दुई हात पर बसेर आफू नै आधा प्रधानमन्त्री भएजस्तो हिँड्थे तर कुमार बेन भने अर्कै जातका देखिन्छन्, न कोटको रवाफ, न टाईको तामझाम न भाषणको भोक न क्यामेरासँग प्रेम झुस्स कपाल, रुद्राक्ष, चेक सर्ट, सामसुङ, बस
यस्तो लाग्छ, प्रधानमन्त्री कार्यालयमा सल्लाह दिन होइन, कम्प्युटरको पासवर्ड रिसेट गर्न आएको मान्छे हो तर राजनीति कहिलेकाहीँ पोसाकले होइन, पहुँचले चिनिन्छ कपाल झुस्स भए पनि दिमाग व्यवस्थित हुन सक्छ सर्ट चेक भए पनि रणनीति सिधा हुन सक्छ, रुद्राक्ष घाँटीमा भए पनि आँखाले सिंहदरबारको नक्सा पढिरहेको हुन सक्छ, कुमार बेनको सबैभन्दा ठूलो परिचय शायद उनी आफैँले दिएको परिचय होइन, उनीसँग लामो समयदेखि जोडिएको अर्को नाम हो—बालेन्द्र शाह, बालेन मेयर बन्नुअघिदेखिको साथ, मेयर भएपछि पनि साथ, राजनीतिक यात्राले अर्को मोड लिएपछि पनि साथ र आज प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको कुर्सीमा, सार्वजनिक समाचारअनुसार बालेनले मेयर हुँदा पनि कुमार बेनलाई आफ्नो निकट सहयोगीका रूपमा प्रयोग गरेका थिए, प्रधानमन्त्री बनेपछि मन्त्रिपरिषद्को पहिलो बैठकबाटै उनलाई प्रमुख सल्लाहकार नियुक्त गरियो, राजनीतिमा यति लामो साथ आफैँमा सानो कुरा होइन किनकि राजनीति यस्तो बाटो हो जहाँ हिजोको साथी आज प्रतिस्पर्धी बन्न सक्छ, हिजोको सहयात्री भोलि टिकट माग्न सक्छ, हिजो काँधमा हात राख्ने मान्छे भोलि त्यही हातले कुर्सी तान्न सक्छ तर कुमार बेनको कथा अहिलेसम्म बालेनको छायाजस्तै देखिन्छ, छायाँले कहिल्यै अगाडि हिँड्दैन ।
कुमार बेन धेरै बोल्दैनन्, राजनीतिमा धेरै बोल्नेहरू धेरै देखिन्छन्, धेरै देखिनेहरू धेरै सुनिन्छन्, धेरै सुनिनेहरू धेरै लेखिन्छन्, तर कुमार बेन ? उनी बोल्नुभन्दा पहिले सोच्ने मान्छेको छवि बनाइरहेका छन् ।
तर, मान्छे जहाँ जान्छ, छायाँ त्यहीँ पुग्छ, त्यसैले त मानिसहरू सोध्छन् — ‘बालेनको दिमागमा चलिरहेको सफ्टवेयर आखिर कसले लेख्छ ?’ उत्तर कसैले ठोकुवा गरेर दिन सक्दैन तर एउटा नाम बारम्बार आउँछ — कुमार बेन । कसैले उनलाई रणनीतिकार भन्छ, कसैले नजिकको साथी, कसैले ‘पावर ब्याकअप’, कसैले पर्दापछाडिको योजनाकार, कसैले त झन् ‘बालेनको राजनीतिक कम्प्युटर’ नै भन्छ, यी सबै सार्वजनिक चर्चा हुन् ।
इतिहासको प्रमाण होइनन् तर चर्चा पनि कहिलेकाहीँ राजनीतिमा एउटा छुट्टै शक्ति हुन्छ, कुमार बेनको हकमा त्यो चर्चा दिनदिनै बाक्लिँदै गएको छ, ज्वागल, ललितपुरको एउटा ठाउँ, त्यहाँ एउटा घर छ, साधारण घरजस्तै देखिने तर पछिल्लो समय राजनीतिको चिया पसलदेखि राष्ट्रिय पत्रिकासम्म त्यो घरको नाम आउन थालेको छ ।
किन ? किनकि कुनै समय त्यहाँ बालेन र रवि लामिछानेबीच राजनीतिक संवाद भएको सार्वजनिक विवरण आएको छ । बालेन–रवि सहकार्यको वार्तामा कुमार बेनको घर प्रयोग भएको समाचार प्रकाशित भएका छन् । अब कल्पना गर्नुस् — बाहिर काठमाडौंको सडक, भित्र एउटा बैठक कोठा, ढोका बन्द, मोबाइलहरू टेबलमा कफीका कप, कहिले लामो मौनता, कहिले धीमा आवाज, कहिले कागजमा कलमर कहिले एउटा नाम, कहिले अर्को नाम र बाहिर बसेका मानिसको एउटै प्रश्न — ‘भित्र के हुँदैछ ?’ राजनीतिको शौन्दर्य पनि यही हो, ढोका बन्द भएपछि बाहिरको कल्पना खुल्छ, ज्वागलको घर पनि त्यसैगरी एउटा राजनीतिक उपमामा बदलियो, कतिले भन्न थाले — ‘सिंहदरबारमा सरकार छ, तर ज्वागलमा सरकारको गृहकार्य हुन्छ ।’ यो भनाइ एउटा राजनीतिक टिप्पणी हो, प्रमाणित तथ्य होइन तर यही वाक्यले कुमार बेनको रहस्यलाई राम्ररी समात्छ । अझ रमाइलो कुरा के छ भने — कुमार बेन धेरै बोल्दैनन्, राजनीतिमा धेरै बोल्नेहरू धेरै देखिन्छन्, धेरै देखिनेहरू धेरै सुनिन्छन्, धेरै सुनिनेहरू धेरै लेखिन्छन्, तर कुमार बेन ? उनी बोल्नुभन्दा पहिले सोच्ने मान्छेको छवि बनाइरहेका छन् । कहिलेकाहीँ यस्तो पनि लाग्छ — नेपालको राजनीतिमा सबैभन्दा महँगो कुरा अहिले भाषण होइन, मौनता हो, किनकि भाषण माइक्रोफोनले सुनाउँछ, मौनता भने मानिसलाई आफैँ अनुमान गर्न बाध्य बनाउँछ, कुमार बेनको मौनता त्यही अनुमानको खेत बनेको छ, कसैले त्यहाँ रणनीति उम्रिएको देख्छ, कसैले रहस्य, कसैले शक्ति, कसैले शंका उनलाई ‘कम्प्युटरको किरा’ भन्नेहरू पनि छन्, तर कम्प्युटरको किरा हुनु पनि नराम्रो कुरा होइन, आजको संसारमा कम्प्युटर बुझ्नेले फाइल खोल्छ, राजनीति बुझ्नेले फाइल चलाउँछ र सत्ता बुझ्नेले फाइल कुन ढोकाबाट छिराउने भन्ने जान्छ तर यहीँ एउटा गम्भीर प्रश्न पनि उठ्छ — कुन फाइल ? कसको सल्लाह ? कुन प्रक्रियाबाट ? कसको जिम्मेवारी ? र अन्तिम निर्णय कसको ? प्रधानमन्त्रीको सल्लाहकार हुनु भनेको प्रधानमन्त्रीको सट्टा निर्णय गर्नु होइन, सल्लाहकारको शक्ति जति ठूलो हुन्छ, पारदर्शिताको प्रश्न पनि त्यति नै ठूलो हुन्छ । यही कारणले कुमार बेनको कथा प्रशंसाभन्दा बाहिर पनि हेर्नुपर्छ, किनकि लोकतन्त्रमा नजिक हुनु अपराध होइन तर राज्यको शक्ति अनौपचारिक बाटोबाट चल्नु हुँदैन, पछिल्ला महिनामा त कुमार बेनको नाम कूटनीतिक वृत्तसम्म पुगेको छ, भारत भ्रमण गरेको भन्ने समाचार आयो, भारत पुगेको भन्ने स्रोतहरू उद्धृत भए तर स्वयं कुमार बेनले त्यसलाई अस्वीकार गरेको रिपोर्ट पनि आयो, पछि भारतीय प्रधानमन्त्रीको निमन्त्रणासम्बन्धी घटनाक्रममा उनको नाम फेरि चर्चामा आयो, अब यहाँ कथा झन् रोचक हुन्छ, कुमार बेन भारत गए कि गएनन् ? गए भने कसलाई भेटे ? किन गए ? कसको जानकारीमा गए ? के कुरा भयो ? यी प्रश्नको सबै उत्तर सार्वजनिक छैनन् र यही अधुरोपनले उनको वरिपरि रहेको रहस्य अझ बाक्लो बनाउँछ । तर एउटा कुरा चाहिँ पक्का छ — राजनीतिमा एउटा कुरा लुक्यो भने त्यसको ठाउँमा दसवटा कथा जन्मिन्छन्, नेपालमा त अझ पचास वटा, एउटा चिया पसलमा, दुई वटा फेसबुकमा, तीन वटा टिकटकमा, चार वटा राजनीतिक बैठकमा र बाँकी सबै चोकमा, अहिले उनका आलोचकहरूको पनि आफ्नै कथा छ । केही राजनीतिक आवाजहरूले ज्वागललाई लिएर प्रश्न उठाएका छन् । रास्वपाकै सांसद अमरेशकुमार सिंहले सरकारको केन्द्र सिंहदरबार नभई ज्वागल बनेको आरोप सार्वजनिक रूपमा लगाएका छन्, यो आरोप सत्य ठहरिएको निष्कर्ष होइन तर आरोप उठ्नु आफैँमा एउटा राजनीतिक तथ्य हो र लोकतन्त्रको सुन्दरता यही हो— कसैले प्रशंसा गर्छ, कसैले प्रश्न गर्छ, कसैले शंका गर्छ, कसैले बचाउ गर्छ ।
अन्ततः कामले जवाफ दिनुपर्छ, कुमार बेनको कथा यहाँ आएर एउटा पुरानो नेपाली उखानजस्तो लाग्छ— ‘मान्छे चिनिन उसको घर होइन, उसले गरेको काम हेर्नुपर्छ, ज्वागलको घर ठूलो कुरा होइन, त्यहाँ को आयो, को गयो—त्यो पनि अन्तिम कुरा होइन, अन्तिम कुरा त त्यो हो — त्यहाँ भएका कुराले देशको निर्णय प्रक्रियामा कस्तो प्रभाव पारे ? प्रधानमन्त्रीको सल्लाहकारका रूपमा उनले कस्ता नीति सुझाए ? कस्ता निर्णयमा उनको भूमिका रह्यो ? कति कुरा संस्थागत भए ? कति कुरा पारदर्शी भए ? र जनताले त्यसको परिणाम के पाए ? यही प्रश्नहरूले कुमार बेनको असली परिचय लेख्नेछन्, तर एउटा कुरा मान्नैपर्छ । कुमार बेनको सार्वजनिक छवि नेपालको परम्परागत सत्ताको चित्रसँग मेल खाँदैन, त्यसैले उनी युवालाई रोचक लाग्छन्, उनीहरूलाई लाग्न सक्छ — ‘हाम्रो पुस्ताको मान्छे पनि देशको केन्द्रमा पुग्न सक्छ ।’ यो भावना आफैँमा महत्त्वपूर्ण छ । किनकि राजनीति केवल बूढा अनुहारहरूको थलो होइन भन्ने अनुभूति नयाँ पुस्ताले खोजिरहेको छ तर युवा हुनु मात्र उपलब्धि होइन, नयाँ पुस्ताको हुनु मात्र प्रमाणपत्र होइन, नयाँ अनुहारले पुरानो गल्ती दोहोर्याए भने अनुहार मात्रै नयाँ हुन्छ, संस्कार पुरानै, त्यसैले कुमार बेनको परीक्षा पनि अब सुरु भएको छ, बालेनको साथीबाट प्रधानमन्त्रीको प्रमुख सल्लाहकार बनेपछि, हिजो उनी बालेनका साथी थिए, आज उनी प्रधानमन्त्रीका प्रमुख सल्लाहकार छन्। हिजो दुई जना साथीबीच हुने कुरा निजी थियो, आज प्रधानमन्त्रीको सल्लाहकारले दिएको सुझाव सार्वजनिक जिम्मेवारीसँग जोडिन्छ, हिजो ज्वागलको बैठक एउटा निजी भेट थियो, आज त्यही ठाउँको राजनीतिक अर्थ खोजिन्छ, यही हो सत्ताको खेल, साधारण कोठा पनि शक्तिको नक्सामा पर्न सक्छ, साधारण मान्छे पनि इतिहासको फुटनोट बन्न सक्छ र एउटा साधारण देखिने मोबाइलमा कहिलेकाहीँ यस्तो सन्देश आउन सक्छ — ‘सर, प्रधानमन्त्रीलाई भन्नुपर्ने कुरा छ, कुमार बेनको जीवनशैलीबारे धेरै कथा छन्, कसैले उनलाई शिवभक्त भन्छ, कसैले नैतिक सदाचारमा विश्वास गर्ने साधारण जीवनको मान्छे भन्छ, कसैले युवाको राजनीतिक गुरु ठान्छ ।
रास्वपाकै सांसद अमरेशकुमार सिंहले सरकारको केन्द्र सिंहदरबार नभई ज्वागल बनेको आरोप सार्वजनिक रूपमा लगाएका छन्, यो आरोप सत्य ठहरिएको निष्कर्ष होइन तर आरोप उठ्नु आफैँमा एउटा राजनीतिक तथ्य हो र लोकतन्त्रको सुन्दरता यही हो— कसैले प्रशंसा गर्छ, कसैले प्रश्न गर्छ, कसैले शंका गर्छ, कसैले बचाउ गर्छ ।
कसैले बालेनको रणनीतिक दिमाग, कसैले जेन–जी पुस्ताको राजनीतिक सोचलाई संगठित गर्न सक्ने व्यक्तिका रूपमा हेर्छ, यी सबै धारणा हुन्, समयले प्रमाणित गर्न बाँकी कुरा पनि धेरै छन् तर उनको एउटा कुरा भने आज स्पष्ट छ — उनी अब नेपालको राजनीतिको दर्शकदीर्घामा बस्ने मान्छे होइनन्, उनी मैदानभित्र छन्, त्यो पनि मैदानको बीचमा र मैदानको बीचमा उभिएको मान्छेको एउटा दुर्भाग्य हुन्छ, उसलाई ताली पनि ठूलो सुनिन्छ, ढुंगा पनि ठूलो लाग्छ, प्रशंसा पनि इतिहास बन्छ, आलोचना पनि इतिहास बन्छ, आज युवाले मुटुको धड्कनजस्तो सम्झिएको पात्र भोलि प्रश्नको कठघरामा पनि उभिन सक्छ, आज रहस्यमय देखिएको मान्छे भोलि उसको कामबाट पढिन सक्छ, त्यसैले कुमार बेनको कथा अहिले लेखिँदैछ, अन्तिम पाना अझै खाली छ ।
सायद कुनै दिन इतिहासकारले सोध्ला — बालेनको राजनीतिक यात्रामा कुमार बेनको वास्तविक भूमिका के थियो ? सायद उत्तर आउनेछ— ‘उनी साथी थिए ।’ कसैले भन्नेछ— ‘रणनीतिकार थिए।’ कसैले भन्नेछ—‘सल्लाहकार थिए।’ कसैले भन्नेछ— ‘पर्दापछाडिका पात्र थिए।’ कसैले भनेको कुरा इतिहास होइन, इतिहासले त प्रमाण खोज्छ, निर्णय खोज्छ, दस्तावेज खोज्छ, परिणाम खोज्छ र अन्ततः— जनताको स्मृति खोज्छ, आजका लागि भने कुमार बेन एउटा अनौठो राजनीतिक चित्र हुन्, झुस्स कपाल, घाँटीमा रुद्राक्ष, हातमा सामसुङ, चेक सर्ट, साधारण देखिने मान्छे तर प्रधानमन्त्रीको छेउमा असाधारण पहुँच, ज्वागलको एउटा घर ।
सिंहदरबारको एउटा कार्यालय, देशका ठूला राजनीतिक पात्रहरूसँग संवाद र वरिपरि अनेक प्रश्न, यति भएपछि कथा नरोचक हुने कुरै भएन तर यो कथाको सबैभन्दा रोचक अध्याय अझै आउन बाँकी छ, किनकि सत्ता पाउनु ठूलो कुरा होइन, सत्ता पाएपछि आफूलाई सत्ताभन्दा ठूलो नठान्नु ठूलो कुरा हो, सल्लाह दिनु ठूलो कुरा होइन । सल्लाहको परिणामको जिम्मेवारी बुझ्नु ठूलो कुरा हो, प्रधानमन्त्रीको नजिक हुनु ठूलो कुरा होइन, जनताको विश्वासबाट टाढा नहुनु ठूलो कुरा हो र इतिहासमा नाम आउनु ठूलो कुरा होइन, इतिहासले त्यो नाम उच्चारण गर्दा जनताले निधार खुम्च्याउनुपर्छ कि छाती फुलाउनुपर्छ — त्यो ठूलो कुरा हो, कुमार बेन अहिले त्यसैको बाटोमा छन् ।
उनको अगाडि बालेन छन्, पछाडि एउटा पुस्ताको आशा छ, वरिपरि राजनीतिको धूलो छ, माथि सत्ताको आकाश छ र तल— जनताको आँखा, त्यो आँखाले अहिले उनलाई हेरिरहेको छ, प्रशंसा पनि गरिरहेको छ, प्रश्न पनि गरिरहेको छ, शंका पनि गरिरहेको छ, आशा पनि गरिरहेको छ र सायद यही नै कुमार बेनको सबैभन्दा ठूलो परिचय हो — उनी अहिले नेपालको राजनीतिमा उत्तरभन्दा बढी प्रश्न बनेका मान्छे हुन् तर इतिहासको एउटा नियम छ — प्रश्न जति लामो समय बाँच्छ, उत्तर त्यति नै कठोर हुनुपर्छ, अब कुमार बेनले दिने उत्तर भाषणले होइन, कामले दिनेछन्, र त्यो दिन — ज्वागलको एउटा साधारण घरको कथा पनि सकिनेछ, रुद्राक्षको रहस्य पनि खुल्नेछ, चेक सर्टको चर्चा पनि हराउनेछ, सामसुङको स्क्रिन बन्द हुनेछ, बाँकी रहनेछ केवल एउटा कुरा — कुमार बेनले सत्तामा बसेर देशका लागि के गरे ? त्यही प्रश्नको उत्तरले उनको नामलाई कथा बनाउनेछ — वा इतिहास ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?