एउटा सुनसान घर, केही पुराना तस्वीर, केही अधुरा सपना र कसैको आँखामा कहिल्यै नसुक्ने आँशु । त्यसैले आज ती मृत आत्माहरूका लागि एउटा मौन प्रार्थना गरौँ
आज आकाश घुम्मिएको छ, टाढा क्यानाडाको टोरन्टो सहरको छेउमा रहेको नेपाली बाहुल्यता भएको लण्डनमा रात गहिरिँदै छ, झ्यालबाहिर सहर आफ्नै गतिमा दौडिरहेको छ, सडकमा गाडीहरू गुडिरहेका छन्, अग्ला भवनका झ्यालहरूमा बत्तीहरू बलिरहेका छन् तर एउटा कोठाभित्र भने समय रोकिएको छ, दस वर्षपछि नेपाल फर्किन लागेको एक नेपालीलाई आज निद्रा परेको छैन, उसले आफ्नो झोला धेरैपटक खोलेर हेरेको छ, लुगा मिलाएको छ, आमाका लागि किनेको सामान छुट्टै राखेको छ, बाबाका लागि ल्याएको उपहार छामेको छ, दाजुभाइ, दिदीबहिनी, काका–काकी र गाउँलेहरूका लागि ल्याएका साना–साना चिनोहरू पनि एकपटक होइन, पटक–पटक गनेको छ, भोलि बिहान सात बजे विमान चढ्नु छ, टोरन्टोबाट दिल्ली, दिल्लीबाट काठमाडौं, अनि काठमाडौं हुँदै धादिङको आफ्नै गाउँ, उसले क्यानडामा दस वर्ष बिताएर जन्म गाउँ फर्किदैछ ! दस वर्षअघि ऊ गाउँ छोडेर परदेश गएको थियो, हातमा ठूलो सपना थियो, खल्तीमा थोरै पैसा, परदेशमा सुरुका दिन सजिला थिएनन्, एउटा पन्जाबी ढाबाबाट काम सुरु गरेको ऊ विस्तारै व्यवसायमा उक्लियो, परिश्रम गर्यो, जोखिम उठायो, असफलतासँग डराएन, आज ऊ क्यानाडामा सफल व्यवसायीका रूपमा चिनिन्छ तर आज ती सबै उपलब्धि फिक्का लागिरहेका छन्, आज उसलाई पैसाको हिसाब छैन, आज उसलाई सम्झना छ–गाउँको ।
आँसी खोला कस्तो भयो होला ? खनाल पँधेरोको ढुङ्गेधारा अझै उस्तै छ कि छैन ? दमै चौतारामा बसेर खाएको त्यो खाफलको स्वाद उस्तै होला कि नहोला ? गाउँको बाटो पिच भयो होला कि अझै उही धुलाम्मे बाटो होला ? बाबा कति बूढा भए होलान् ? आमाको कपाल कति फुल्यो होला ? दाजुभाइसँग बसेर फेरि एकपटक उही पुराना कुरा गर्न पाइएला ? उसको मनमा प्रश्नैप्रश्न छन् ।
दस वर्षपछि फर्किन लागेको मानिसको मन सायद यस्तै हुँदो हो–परदेशमा बिताएका वर्षहरूभन्दा जन्मभूमिमा बिताएका बाल्यकालका केही वर्षहरू भारी हुन्छन्, उसले श्रीमती र छोराछोरीलाई पनि सम्झन्छ, एघार वर्षकी छोरी, आठ वर्षको छोरा, उनीहरू पहिलोपटक नेपाल जाँदैछन्, बुबाले उनीहरूलाई गाउँ देखाउने सपना बुनेको छ, ‘यसपालिको दसैँ गाउँमै मनाउँछु,’ उसले श्रीमतीलाई भनेको थियो । ‘छोरी र छोरालाई हाम्रो गाउँ देखाउँछु । हजुरबा–हजुरआमासँग बसाउँछु, काका–काकी भेटाउँछु, सबै आफन्तसँग भेटाउँछु, दमे चौतारामा बसेर चिसो हावा खान्छु, रातोमाटो फलेकोलोकल बदाम खान्छु, आँसी खोलामा गएर पुराना दिन सम्झन्छु, माछा मार्छु’ सानो सेरामा बसेर एकछिन सुस्ताउँछु, कति सामान्य सपना तर मानिसका सबैभन्दा ठूला दुःखहरू कहिलेकाहीँ यस्तै सामान्य सपनाहरूको बीचबाट जन्मिन्छन् ।
नेपाल आइपुगेपछि गाउँलेले उसलाई घेरे, दस वर्षपछि फर्किएको छोरो घर आइपुग्दा बाबाको आँखामा आँसु थियो, आमाको हात काँपिरहेको थियो, आफन्तहरू घरमा जम्मा भएका थिए, बालबालिकाका लागि नयाँ ठाउँ थियो, उनीहरूका लागि गाउँ एउटा कथा थियो—बुबाले वर्षौँदेखि क्यानडामा सुनाउँदै आएको कथा । गाउँ पुगेपछि उसको मनमा एउटा बिचार आयो । बा आमालगायत परिवारलाई लिएर कतै घुमाउन लैजाने, धार्मिक यात्रा गर्ने, जनै–पूर्णिमाको अघिल्लो दिन उनीहरूले धार्मिक यात्राको योजना बनाए, गोसाईकुण्ड जाने ।
एक दिनअघिसम्म ऊ हाँसिरहेको थियो, बुबाको हात समातेर हिँडिरहेको थियो, आमाको काखमा बसेर बाटो हेरिरहेको थियो । परिवारसँग फोटो खिचिरहेको थियो तर एउटा क्षणले सबै कुरा बदलिदियो, जीवनको सबैभन्दा निर्मम सत्य यही हो ।
हिमालको काखमा रहेको पवित्र तीर्थस्थल, भगवान् प्रतिको आस्था, पुरानो परम्परा, परिवारसँगै धार्मिक यात्रा गर्ने चाहना, सबै आफन्तलाई लिएर जाने योजना बन्यो, एउटै बसमा सबै बसे, हाँसो थियो, कुरा थियो, गीत थियो, दुईवटा बच्चालाई स्थान चेन्ज भएको कारण हल्का फिवर थियो, नाकबाट सिङान बगिरहेको थियो । यसकारण उनीहरू फूपुको संरक्षणमा गाउँमा नै बसेका थिए, कसैले पुराना कुरा गरिरहेको थियो, कसैले बाटोको कुरा, कसैले गोसाईकुण्ड पुगेपछि के गर्ने भन्ने योजना, गाडी धादिङको सदरमुकाम हुँदै गल्छी पार भयो, नुवाकोट आयो, त्रिशूली बजार पार भयो, रसुवातिरको बाटो सुरु भयो, धुञ्चे नजिकिँदै पुग्दा पहाड अझ गहिरिँदै गए, खोलाहरू तलतिर बगिरहेका थिए, पहाडका घुम्तीहरू पार गर्दै बस अघि बढिरहेको थियो, कसलाई थाहा थियो–यो यात्रा उनीहरूको जीवनको अन्तिम यात्रा बन्नेछ ? प्रकृतिले कहिलेकाहीँ कुनै पूर्वसूचना दिँदैन, त्यो दिन पनि त्यस्तै भयो, अचानक भोटेकोसीमा बाढी आयो, पहाडबाट आएको भेल, उर्लिएको खोला, माटो, ढुङ्गा र पानीको भीषण वेग, एकैछिनमा बाटो, बस र मानिसहरूबीचको सबै सम्बन्ध टुट्यो । त्यो बस कहाँ पुग्यो ? कसरी पुग्यो ? कहाँ बग्यो ? कसले कसलाई समात्यो ? कसले कसलाई अन्तिमपटक हेर्यो ? यी प्रश्नहरूको उत्तर अब कहिल्यै नआउन सक्छ, बस हरायो, मानिसहरू हराए, बगे खोला सँग–सँगै, आवाजहरू हराए, लाशहरू पनि भेटिएनन्, र सबैभन्दा ठूलो कुरा–एउटा परिवार हरायो, तर कथा त्यहाँ सकिँदैन, कथा त त्यहाँबाट सुरु हुन्छ । किनकि विपत्तिले केवल मानिसहरूलाई बगाउँदैन; कहिलेकाहीँ उसले एउटा बच्चाको सम्पूर्ण संसार बगाउँछ ।
त्यो अबोध बालकलाई के थाहा—बुबा भनेको के हो ? आमा भनेको के हो ? घर भनेको के हो ? परिवार भनेको के हो ? उसले त भर्खरै जीवन चिन्न थालेको थियो, उसले नेपाललाई पहिलोपटक देख्दै थियो, उसले नेपाली भाषा राम्रोसँग बोल्न जान्दैन, यहाँको संस्कार बुझ्दैन, गाउँका बाटाहरू चिन्दैन, आफन्तहरूको अनुहार चिन्न समय लागेको छ तर उसले एकैपटक सबै गुमायो, बुबा गुमायो, आमा गुमायो, हजुरबा–हजुरआमा गुमायो, आफन्तहरू गुमायो, आफ्नो परिचित संसार गुमायो । अब ऊसँग बाँकी के छ ? एउटा सानो झोला, केही कपडा, केही अपरिचित अनुहार र एउटा यस्तो शून्यता, जसको अर्थ उसले अझै बुझ्न सकेको छैन, एक दिनअघिसम्म ऊ हाँसिरहेको थियो, बुबाको हात समातेर हिँडिरहेको थियो, आमाको काखमा बसेर बाटो हेरिरहेको थियो । परिवारसँग फोटो खिचिरहेको थियो तर एउटा क्षणले सबै कुरा बदलिदियो, जीवनको सबैभन्दा निर्मम सत्य यही हो—हामीलाई अर्को क्षणको कुनै ग्यारेन्टी दिइएको छैन, एकछिनअघिसम्म सँगै हाँसेका मानिसहरू अर्कोछिनमा सम्झना बन्न सक्छन्, एक दिनअघिसम्म घरको केन्द्रमा रहेको मानिस अर्को दिन तस्वीरभित्र मात्र बाँकी रहन सक्छ र एउटा बच्चा, जसलाई जीवनको अर्थसमेत थाहा छैन, अचानक जीवनभर बोक्नुपर्ने दुःखको भारीसँग उभिन सक्छ, आज त्यो बालक नेपालमा छ तर नेपाल उसको आफ्नै देशजस्तो लाग्दैन, उसले भाषा जानेको छैन, भेष चिनेको छैन, संस्कार बुझेको छैन, उसले गाउँलाई चिन्न पाएको छैन, आफ्ना आफन्तलाई चिन्न पाएको छैन ।
जसले उसलाई यहाँसम्म ल्याए, उनीहरू नै छैनन्, उसले कसलाई ‘बुबा’ भनेर बोलाउने ? कसलाई ‘आमा’ भनेर अँगालो हाल्ने ? कससँग राति डर लाग्दा टाँसिने ? कसलाई विद्यालयको कुरा सुनाउने ? कसलाई आफ्नो सानो उपलब्धिमा गर्वका साथ देखाउने ? उसका प्रश्नहरू धेरै छन्, तर उत्तर दिने मानिसहरू छैनन् । सायद यही नै अनाथपनको सबैभन्दा गहिरो पीडा हो ।
जसले उसलाई यहाँसम्म ल्याए, उनीहरू नै छैनन्, उसले कसलाई ‘बुबा’ भनेर बोलाउने ? कसलाई ‘आमा’ भनेर अँगालो हाल्ने ? कससँग राति डर लाग्दा टाँसिने ? कसलाई विद्यालयको कुरा सुनाउने ? कसलाई आफ्नो सानो उपलब्धिमा गर्वका साथ देखाउने ? उसका प्रश्नहरू धेरै छन्, तर उत्तर दिने मानिसहरू छैनन् । सायद यही नै अनाथपनको सबैभन्दा गहिरो पीडा हो । मानिस हराउनु मात्र होइन, प्रश्नको उत्तर दिने संसार हराउनु, हामी धर्मका लागि यात्रा गर्छौँ, पुण्यका लागि यात्रा गर्छौँ, मोक्षका लागि यात्रा गर्छौँ, तीर्थ जान्छौँ, व्रत बस्छौँ, पूजा गर्छौँ, मन्दिर धाउँछौँ तर कहिलेकाहीँ विधिको विधानले हामीलाई एउटा कठोर प्रश्न सोध्छ—धर्मभन्दा ठूलो कुरा आखिर के हो ? सायद मानवीयता, सायद जीवन, सायद अर्को मानिसको पीडा बुझ्ने हृदय, भगवान् मन्दिरमा मात्रै हुनुहुन्छ कि त्यो अबोध बालकको आँसुमा पनि हुनुहुन्छ ? पुण्य तीर्थमा मात्रै प्राप्त हुन्छ कि एउटा असहाय बालकको हात समातेर उसलाई फेरि जीवनतर्फ डोर्याउँदा पनि प्राप्त हुन्छ ? यी प्रश्नहरूको उत्तर हामीले आफैँ खोज्नुपर्छ, किनकि धर्मले मानिसलाई मानिससँग जोड्न सकेन भने त्यो केवल कर्मकाण्ड बन्न सक्छ र मानवताविनाको आस्था—कति ठूलो भए पनि—अधुरो हुन्छ, दस वर्षपछि जन्मभूमि फर्किएको त्यो मानिसको सपना कति सुन्दर थियो, गाउँमा दसैँ मनाउने, बाबाआमाको हातबाट टीका लगाउने, काका–काकीसँग बस्ने । दाजुभाइसँग पुराना कुरा गर्ने । दमै चौतारामा बसेर चिसो हावा खाने । आँसी खोलाको पानी हेर्ने, खनाल पँधेरोको ढुङ्गेधारा छुने, आफ्ना छोराछोरीलाई आफू हुर्किएको माटो देखाउने, उसले सोचेको थियो—परदेशबाट फर्केर फेरि आफ्नै बाल्यकाल भेट्नेछु तर प्रकृतिले उसको कथा अर्कै ठाउँमा लगेर टुङ्ग्याइदियो, उसले घर खोज्दै फर्किएको थियो तर आफ्ना छोराछोरीका लागि घर नै हराएर गयो, उसले जन्मभूमिको माटो देखाउन चाहेको थियो तर ती अबोध आँखाले पहिलोपटक नेपालमै मृत्युको कठोर अनुहार देखे । आज ती मृत आत्माहरू जहाँ छन्, शान्तिमा होऊन् । गोसाईकुण्ड जाने बाटोमा बगेका ती सपना, ती हाँसो, ती आवाजहरू सायद अब हिमालको हावामा मिसिएका छन्, त्रिशूलीको पानीसँगै बगेका ती मानिसहरूको कथा हामीले बिर्सनु हुँदैन, किनकि विपत्तिमा मृत्यु हुनेहरू केवल तथ्याङ्क होइनन्, उनीहरू कसैका बाबु हुन्, कसैकी आमा हुन्, कसैका छोरा हुन्, कसैकी छोरी हुन्, कसैका श्रीमान् हुन्, कसैकी श्रीमती हुन् र कसैका लागि त उनीहरू नै सम्पूर्ण संसार हुन्, त्यो अबोध बालकको आँखामा हेर्दा हामीले एउटा परिवारको मृत्यु मात्र देख्नु हुँदैन, हामीले एउटा भविष्यको काँपिरहेको अनुहार देख्नुपर्छ, उसको हराएको बाल्यकाल देख्नुपर्छ, उसको मौन प्रश्न सुन्नुपर्छ र आफैँलाई सोध्नुपर्छ–हामी उसको लागि के गर्न सक्छौँ ? उसलाई दया मात्र होइन, सुरक्षा चाहिन्छ, सान्त्वना मात्र होइन, अभिभावकत्व चाहिन्छ, सहानुभूति मात्र होइन, भविष्य चाहिन्छ, जीवन साँच्चै अनिश्चित छ, एक क्षणअघि हामीसँग संसार हुन्छ ।
अर्को क्षणमा सम्झनाबाहेक केही बाँकी नहुन सक्छ, त्यसैले बाँचुन्जेल प्रेम गरौँ, आफन्तलाई समय दिऔँ, आमाबाबुलाई अँगालो हालौँ, छोराछोरीको कुरा सुनौँ, मनमुटाव भए मिलौँ किनकि मृत्युले ढोका ढकढक्याएर आउँदैन, कहिलेकाहीँ ऊ पहाडबाट आएको भेलजस्तै आउँछ—एकै झड्कामा सबै बगाएर र बाँकी रहन्छ—
एउटा सुनसान घर, केही पुराना तस्वीर, केही अधुरा सपना र कसैको आँखामा कहिल्यै नसुक्ने आँशु । त्यसैले आज ती मृत आत्माहरूका लागि एउटा मौन प्रार्थना गरौँ—हे ईश्वर, उनीहरूलाई शान्ति देऊ र ती अबोध बालबालिकाका लागि उनीहरूको जीवनमा फेरि उज्यालो देऊ, उनीहरूले गुमाएको परिवारको अभाव कुनै दिन पूर्णरूपमा त मेटिँदैन होला, तर त्यो रिक्ततासँग बाँच्ने शक्ति देऊ, उनीहरूको हात समात्ने असल मानिसहरू भेटाइदेऊ, उनीहरूको बाल्यकाललाई फेरि मुस्कुराउन सिकाइदेऊ । किनकि परिवार गुमाएका ती बालबालिकालाई आज हामी सबैको परिवार चाहिएको छ र सायद यही नै हाम्रो सबैभन्दा ठूलो धर्म हो–मानिसलाई मानिस भएर बचाइराख्नु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?