अर्गानिक र शाकाहारी खानाको प्रवद्र्धनमा जोड दिऔँ : पूर्वमन्त्री पाण्डे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशकी पूर्वमन्त्री कल्पना पाण्डेले स्थानीय खानाको पहिचान जोगाउँदै अर्गानिक उत्पादन र शाकाहारी भोजनको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
चेम्बर अफ कमर्स, रूपन्देहीले भैरहवामा आयोजना गरेको ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८३’ को उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी पाण्डेले महोत्सवले स्थानीय परिकारको महत्त्व उजागर गर्नुका साथै स्वस्थ खानपान र जीवनशैलीबारे जनचेतना फैलाउन सहयोग पुग्ने बताउनु भएको हो । उहाँले सडक खाना महोत्सव खानाका परिकारको स्वाद लिने र मनोरञ्जन गर्ने अवसर मात्र नभई स्थानीय उत्पादन, कृषि, पर्यटन तथा व्यवसायलाई एकै ठाउँमा जोड्ने माध्यम भएको उल्लेख गर्नुभयो । अर्गानिक उत्पादनको उपयोग, शाकाहारी खानाको प्रवद्र्धन र मौलिक खाद्य संस्कृतिको संरक्षणले स्वस्थ समाज निर्माणमा योगदान पुर्याउने उहाँको भनाइ थियो ।
पाण्डेले यस्ता महोत्सवले विभिन्न क्षेत्रका मानिसबीच भेटघाट, सहकार्य र आपसी सद्भाव बढाउनुका साथै स्थानीय परिकारको संरक्षण र स्वदेशी उत्पादनको उपभोगलाई प्राथमिकता दिन सके स्थानीय व्यवसाय र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने दाबी गर्नुभयो ।
महोत्सवमा स्थानीय तथा विभिन्न स्वादका परिकारसँगै सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत भइरहेका छन् । लोकप्रिय कलाकार दुर्गेश थापाको प्रस्तुतिमा दर्शकको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।
महोत्सवले भैरहवाको स्थानीय खानपान र संस्कृतिको प्रचारप्रसारसँगै पर्यटन प्रवद्र्धन, व्यवसायीबीच सहकार्य र क्षेत्रीय आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
महोत्सवमा चेम्बर अफ कमर्स, रूपन्देहीका अध्यक्ष सचिन रोक्का, प्रमुख अतिथि पुनम अग्रवालसहित रूपन्देहीका सांसद, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा प्रशासनका अधिकारी, उद्योगी, व्यवसायी र विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?