काठमाडौं ।नवरात्रको पाँचौँ दिन आज घरघरका दशैँघर तथा पूजा कोठामा नवदुर्गामध्ये पाँचौँ स्वरूपकी देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा छ ।
वैदिक सनातन धर्मावलम्बीले नवरात्रका ९ दिन दुर्गा देवीका विभिन्न स्वरूपको आराधना गरिन्छ । धार्मिक विश्वासअनुसार देवीको उपासनाबाट शक्ति, ऐश्वर्य र ज्ञान प्राप्त हुने जनविश्वास रहेको छ । यस अवधिमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने चलन छ ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जौको जमरा राखेर देवी शैलपुत्रीको पूजा सुरु गरिएको थियो । त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा र कुष्माण्डाको आराधना गरिएको थियो । नवरात्रका बाँकी दिनमा कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ । यी नौ देवीका स्वरूपलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा पूजाआराधना र दर्शनका लागि भक्तजन पुग्ने गर्छन् । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष पूजा गरिन्छ भने विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर बडादशैँ मनाउने परम्परा छ । यसरी नेपालीले धार्मिक आस्था, पारिवारिक भेटघाट र सांस्कृतिक परम्परासहित १५ दिनसम्म बडादशैँ पर्व मनाउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?