काठमाडौं । नेपालीको महान चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् ।
पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप सबै नाकामा बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म ३७ हजार ९ सय ६४ वटा सवारीसाधनमार्फत उक्त संख्यामा यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।
दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका बसपार्क र प्रमुख नाकामा यात्रु चाप बढेको हो ।
उपत्यका छाड्ने यात्रुमध्ये एक लाख १५ हजार ८६ जना महिला र एक लाख ६१ हजार १६७ जना पुरुष छन् । दसैँ मनाउन घर फर्किनेक्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप पनि बढिरहेको छ ।
उपत्यका छाड्ने यात्रुको सङ््ख्या बढेसँगै काठमाडौँ उपत्यकाका प्रमुख नाकामा सवारीसाधनको पनि आवागमन बाक्लिएको छ । विभिन्न जिल्लातर्फ जाने यात्रु सार्वजनिक बस तथा अन्य सवारीसाधनमार्फत गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुंगा, फर्पिङ, थानकोट, भीमढुंगा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायत नाकाबाट यात्रु बाहिरिनेक्रम जारी छ । ती नाकामा दसैँका लागि घर फर्किने यात्रुको चाप बढ्दै गएपछि सवारीसाधनको आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?