काठमाडौं । चन्द्रागिरि नगरपालिका–५ मा इन्टरनेटको तारमा ट्रक अल्झिँदा विद्युत् तार रहेको काठको पोल भाँचिएको छ भने नजिकैको सिमेन्टको पोलसमेत ढल्किएको छ । म.प्र.०३.००२ ख ४४१६ नम्बरको ट्रकमा तार अल्झिएपछि उक्त घटना भएको हो ।
ट्रकमा तार बेरिएसँगै काठको पोल भाँचिएर गाडीमै अड्किएको छ । घटनाले आसपासका केही घरमा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
चन्द्रागिरि नगरपालिका–५ का वडाध्यक्ष राजेन्द्र महर्जनले घटनाबारे नेपाल विद्युत् प्राधिकरणको बलम्बु शाखालाई जानकारी गराइसकेको बताउनुभयो । उहाँले चालकको थोरै असावधानीले ठूलो दुर्घटना हुनबाट जोगिएको बताउनु भयो । उहाँले क्षतिग्रस्त पोल तथा अल्झिएका तारको व्यवस्थापनका लागि प्राधिकरणका कर्मचारीहरु आउँदै गरेको समेत जानकारी दिनुभयो ।
विद्युत प्राधिकरणको पोलमा नेपाल टेलिकम र विभिन्न इन्टरनेट प्रदायक कम्पनीको अव्यवस्थित तारले भित्रका मुख्य तथा शाखा सडक र बस्ती कुरुप त छदैछ, सर्वसाधारण आवतजावत गर्दा सुरक्षामा समेत जोखिम उत्पन्न भइरहेको छ । यस विषयमा सम्बन्धित निकाय गम्भीर हुन आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?