कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक गरिने भएको छ ।
निर्वाचन समितिका अनुसार आज रातिसम्म सबै पदको मतपरिणाम घोषणा भइसक्ने जानकारी छ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहितका पदाधिकारीको मतगणना सम्पन्न भइसकेको छ ।
हाल केन्द्रीय सदस्यतर्फकोे खुला, महिला, प्रदेशगत, समावेशी तथा अन्य समूहको मतगणना भइरहेको छ । खुला केन्द्रीय सदस्यतर्फ ४५ पदका लागि प्रतिस्पर्धा छ । निर्वाचन समितिले मतगणनालाई तीव्रता दिएसँगै बाँकी परिणामसमेत आजै सार्वजनिक गर्ने तयारी गरेको हो । पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा, उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् । यसअघि वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा डिला संग्रौला तथा खुलातर्फको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन् । धेरै उम्मेदवार र ठूलो संख्यामा उम्मेदवार रहेकाले सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्न समय लागेको हो । निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणना अघि बढाइरहेको छ । सम्पूर्ण मतपरिणाम सार्वजनिक भएसँगै कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पूर्ण संरचना टुंगो लाग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?