आजको दिनमा बाबु जिउँदा हुनेले बाबुका लागि मिठामिठा खानेकुरा खुवाएर, मन परेका कपडाद्वारा सम्मान गरीबाबुको मुख दर्शन गर्ने र आशीर्वाद लिने चलन छ ।
भाद्र कृष्ण अमावस्या तिथिलाई गोकर्ण औंसी भनिन्छ । यस दिनलाई पितृ औंसी र कुशे औंसी पनि भन्दछन् । आफ्ना दिवंगत बाबुको नाममा गोकर्णमा श्राद्ध गर्ने दिन भएकाले यस दिनलाई गोकर्ण औंसी भनिएको हो । यस दिन काठमाडौंको पूर्वोत्तर गोकर्णस्थित उत्तरवाहिनी तीर्थमा मेला लाग्दछ । औंसीको दिन बिहान बागमतीमा स्नान गरी दिवंगत बाबुसहित सबै पितृहरूको श्राद्ध गरी गोकर्णेश्वरको दर्शन गर्नाले पितृहरू खुसी भई आशीर्वाद दिन्छन् भन्ने मान्यता छ ।
आफूलाई यस धरतीमा जन्म दिएर हुर्काई बढाई सही बाटो देखाउने बाबुआमाको गुण तिर्ने र मरेपछि उनीहरूको सद्गत गरी स्वर्ग पुर्याउन हरसम्भव प्रयास गर्ने काम सन्तानको हुन्छ । त्यसैले त शास्त्रले सन्तानलाई आमाबाबुकै अंगको रूपमा मानेको छ । प्राणीहरू आ–आफ्ना सन्तानमार्फत यस धर्तीमा अमर भएर युगयुगसम्म बाँच्छन् र यसरी नै सृष्टिको क्रम चलिरहन्छ । जवसम्म वंश परम्परा चलिरहन्छ तवबम्म यस धरतीमा मानवको अस्तित्व रहिरहन्छ । प्रकृति र पुरुष रूपी बाबुआमाको शुक्रकीटबाट उनीहरूको रूप र गुणको प्रतिनिधित्व गर्दै वंश परम्पराको सिलसिला चलाउने हुँदा सन्तानले आफ्ना बाबुआमाको लालनपालन र पोषणको कर्तव्य पूरा गर्दै, संस्कार र मुक्तिको मार्ग प्रशस्त गर्नुपर्दछ । गोकर्ण औंसी पितृ मुक्तिको यस्तै एक उपयुक्त दिन भएकोले यसको महत्व छ ।
यस दिनमा बाबु जिउँदा हुनेले बाबुका लागि मिठामिठा खानेकुरा खुवाएर, मन परेका कपडाद्वारा सम्मान गरीबाबुको मुख दर्शन गर्ने र आशीर्वाद लिने चलन छ । बाबु नहुने अर्थात बितिसकेकाहरूले पितृ मोक्षको कामना गर्दै अघिल्लो दिन एक छाक खाएर (हविष्य बसी) भोलीपल्ट गोकर्णमा गएर बाबुको नाममा बागमतीमा स्नान, तर्पण र पिण्डदान गरी ब्राह्मण, असहाय र गरिबहरूलाई भोजन गराई दक्षिणा दिने प्रचलन छ ।
कुश आर्यहरूको हरेक शुभ कार्य (देव कार्य र पितृ कार्य) मा नभई नहुने अत्यन्त पवित्र वनस्पती हो । माघ माहात्म्यका अनुसार जालन्धर पत्नी वृन्दाको पतिव्रताधर्म नष्ट गरिदिएकाले वृन्दाले विष्णुलाई श्राप दिएकीले विष्णु कुशरूपमा बसेका हुन् । यसै कारण आर्यहरूले शुभ काममा कुशको प्रयोग गर्न थालेका हुन् । कुशबिना आर्यहरूको कुनै पनि शुभकार्य हुँदैन ।
काठमाडौंको उत्तर–पूर्वी दिशामा रहेको बागमती र चन्द्रभागा नदीको सङ्गममा पवित्र तीर्थ गोकर्ण अर्थात भगवान् शिवका ६४ ज्योतिर्लिङ्गहरूमध्येका ५४ औं गोकर्णेश्वर ज्योतिर्लिङ्ग रहेको छ । यस तीर्थलाई पितृमोक्ष तीर्थ भनिन्छ । स्कन्दपुराणको हिमवत्खण्डका अनुसार चन्द्रभागा नदीमा प्रातः स्नान गरेमा अश्वमेघ यज्ञ गरे सरहको फल मिल्छ । यहाँको भूमि छोएमा मात्र पनि गयामा १० पटक श्राद्ध गरेको फल मिल्छ भने यहाँ एक पटक श्राद्ध गर्नाले गयामा १०० पटक श्राद्ध गरे सरहको पुण्य प्राप्त भई सबै पितृहरू स्वर्ग जाने मान्यता छ । यस स्थानमा सतीदेवीको देब्रे कान पतन उल्लेख छ । ब्रह्माण्डको श्रृष्टिपछि ब्रह्माजीले यहीं शिवलिङ्ग स्थापना गरी ठूलो यज्ञ गरी शिवजीको तपस्या गर्दा शिवजी प्रसन्न भएर ज्योतिस्वरूपले दर्शन दिनुभई ब्रह्माजीको इच्छाअनुसार प्राणी सृष्टि गर्ने वरदान दिनुभएको थियो । सोही वरदानले गर्दा ब्रह्माजीले प्राणी सृष्टि गर्नुभएको थियो । यसैले यस शिवलिङ्गको नाम यज्ञेश्वर रहन गएको हो । पुलह ऋषि, विश्रवा ऋषि आदि ऋषिहरूले पनि यहाँ तपस्या गरेर सिद्धि प्राप्त गरेका थिए । पछि गोकर्णले तपस्या गरी सिद्धि प्राप्त गरेकाले यसको नाम गोकर्ण रहन गयो । ऋषि पुलस्त र सुमालीकी छोरी कैकसीका पुत्र दशानन (रावण) आफ्ना भाई कुम्भकर्ण र विभिषणसहित यहाँ आएर कठोर तपस्या गर्नुका साथै शिव ताण्डव स्तोत्र समेत रचना गरी नित्य पाठ गरेर शिवलाई खुसी पारी मानवबाहेक अरू कसैले मार्न नसक्ने वर प्राप्त गरेका थिए । यसर्थ यस तीर्थको महिमा रहेको छ ।
पितृमोक्ष तीर्थको महिमाका बारेमा हिमवत्खण्डमा एक घट्ना यस प्रकारले उल्लेख गरिएको छ जुन यस प्रकार छ: वैश्यकुण्डली नामको नगरमा एउटी वेश्या बस्तथी । वेश्यावृत्ति गरेर जीवन चलाउने त्यस वेश्याको धेरै जना पुरुषसँगको समागमपश्चात् गर्भ रहन गयो र एउटा छोरो जन्म्यो । दाँत उछिट्टिएकाले उसलाई सबैले दन्तु भनी बोलाउँथे । दन्तु सोझो र असल स्वभावको थियो । तथापि सबैले उसलाई वेश्या पुत्र भनेर हेला गर्थे । साथै तेरो बाउ को हो ? कहाँ बस्छ ? भन्दै बिनाबाबुको छोरो भनेर जिस्काउँथे । ऊ खिन्न भएर घर आई आफ्नी आमासँग मेरो बाबुको नाम के हो ? म कसको छोरा हुँ ? भनेर सोध्दा आमा चाहीँ अरू नै कुरा गरेर टार्ने गर्थी । उसलाई के थाहा कि कसको गर्भ रहेर जन्मेको हो । धेरै पटक सोध्दा पनि आमाबाट जवाफ नपाएको तर सबैले हेला गर्दै भनेका कुराले मन खिन्न भएकाले ऊ एक दिन घर छाडेर हिँड्यो । घुम्दै जाँदा ऊ एक दिन पुलह ऋषिको आश्रममा पुगेछ र त्यहाँ ऋषिको सेवा गरेर बसेछ । एक दिन ऋषिले त्यस बालकसँग तिमी को हौ ? कहाँबाट आयौ र किन यहाँ बसेका छौ भनी उसको परिचय मागेर सोध्दा उसले आफ्नो सबै कुरा बताएर म आफ्नो बाबुको नाम र ठेगाना जान्न चाहन्छु भन्यो । तब ऋषि पुलहले त्यसो भए तिमी पशुपतिनाथदेखि उत्तर दिशामा रहेका गोकर्णेश्वर तीर्थमा गई बिहान सबेरै बागमती र चन्द्रभागा नदीको सङ्गममा स्नान गरी तीन अँजुली पानी चढाएर जललाई म कसको पुत्र हुँं भनी सोध तिमीलाई जवाफ मिल्छ भनी पठाइदिए । दन्तु गोकर्णमा आएर बास बस्यो । खाने कुरा केही पाएन र भोकै पाटीमा रात बितायो । भोलिपल्ट बिहान सबेरै ऋषि पुलहले बताएबमोजिम पितृतीर्थमा स्नान गरी गोकर्णेश्वरको दर्शन गर्यो । त्यस दिन भाद्र कृष्ण औंसीको दिन रहेछ । धेरै मानिस त्यहाँ श्राद्ध गर्न आएका थिए । उसले त्यसपछि नदीमा गई तीन अँजुली पानी चढाएर अँजुलीमा पानी लिई मेरा पिता को हुन् ? म कसको पुत्र हुँ ? मलाई मेरा पितासँग भेट गराइ दिनुहोस् भनी जलदान गर्नेबित्तिकै जलबाट उसकी आमासँग समागम गर्ने सबै जना हात थाप्न आए, तर ब्रह्माजीले उसलाई उसको बाबु चाहीँ यो हो भनी चिनाइ दिनुभयो । अरू सबैले हात झिके, उसको बाबुले आफ्नो परिचय दिए । उसले आफ्नो बाबु चिन्यो र उसैलाई जलदान दियो अनि तर्पण र पिण्डदान दिएर उहर गर्यो । पितृहरूले उसलाई चक्रवर्ती राजा र मनु भए भनी आशीर्वाद दिए । पितृहरूको आशीर्वादले दन्तु चक्रवर्ती राजा र मनु भयो । यहाँ श्राद्ध गर्नाले २१ तर्ने जन विश्वास छ ।
ढोकामा कुश सिउरिने र घरमा राख्नाले घरमा दूषित वायु, भूत, प्रेत आदि र सूर्यको खराब किरणको प्रभाव नपर्ने र घरपरिवारमा सुख, शान्ति र समृद्धि हुनेछ । हरेक धार्मिक र पितृ कार्यमा कुशको औंठी लगाउनाले सो कार्य गरुन्जेल कसैको कुदृष्टि नपर्ने र काममा कुनै विघ्नबाधा नपर्ने शास्त्रीय वचन रहेको छ ।
कुश आर्यहरूको हरेक शुभ कार्य (देव कार्य र पितृ कार्य) मा नभई नहुने अत्यन्त पवित्र वनस्पती हो । माघ माहात्म्यका अनुसार जालन्धर पत्नी वृन्दाको पतिव्रताधर्म नष्ट गरिदिएकाले वृन्दाले विष्णुलाई श्राप दिएकीले विष्णु कुशरूपमा बसेका हुन् । यसै कारण आर्यहरूले शुभ काममा कुशको प्रयोग गर्न थालेका हुन् । कुशबिना आर्यहरूको कुनै पनि शुभकार्य हुँदैन । वराहपुराणका अनुसार कुशको उत्पत्ति वराह भगवान्को जगर (रौंबाट) भएको हो । कुशको शुद्धता तीन अवधिको हुन्छ – भाद्र कृष्ण औंसीको दिन उखेलिएको कुशको शुद्धता एक वर्ष अर्थात् अर्को भाद्र कृष्ण चतुर्दशीसम्म रहन्छ । हरेक औंसीका दिन उखेलिएको कुशको शुद्धता एक महिना अर्थात् अर्को महिनाको कृष्ण चतुर्दशीसम्म रहन्छ भने हरेक दिन उखेलिएको कुशको शुद्धता सोही दिनसम्म मात्र रहन्छ । श्राद्धबाहेक अरू पूजामा प्रयोग गरेको कुशको पुनः प्रयोग गर्नुहुन्छ । तर, अवधि समाप्त भएको कुश पराल सरह हुन्छ । वर्ष दिनसम्मका शुभकार्य र चाडबाडमा प्रयोग गर्ने शुद्ध कुशका लागि भाद्र कृष्ण औंसीका दिन बिहान सबेरै स्नान गरी शुद्ध भई कुश उम्रेको स्थानमा गई ॐ विरन्चिना महोत्पन्न परमेष्ठि निसर्गतः । नुद पापानि सर्वाणि दर्भस्वस्ति करोभव ।। ॐ हुं फट् स्वाहा । मन्त्र भन्दै कुश उखेल्नुपर्दछ ।
कुश उखेली घरमा ल्याएर घरको मूल ढोका माथि सिउरेर बाँकीलाई केलाएर मुठा पारी पूजाकोठामा राखेर कुशे औंसी मनाइन्छ । यस दिन ब्राह्मणहरूले उपरोक्तबमोजिम आज औंसीका दिन उखेलेको कुश यजमानहरूको घरको ढोकामा सिउरेर एकमुठा कुश घरमा भित्राइ दिनुपर्छ । यसरी ढोकामा कुश सिउरिने र घरमा राख्नाले घरमा दूषित वायु, भूत, प्रेत आदि र सूर्यको खराब किरणको प्रभाव नपर्ने र घरपरिवारमा सुख, शान्ति र समृद्धि हुनेछ । हरेक धार्मिक र पितृ कार्यमा कुशको औंठी लगाउनाले सो कार्य गरुन्जेल कसैको कुदृष्टि नपर्ने र काममा कुनै विघ्नबाधा नपर्ने शास्त्रीय वचन रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?