अतिक्रमण हटाउने चन्द्रागिरिको अभियान कि पैदलयात्रुलाई सास्ती ? सडक पेटीमै थुपारियो माटो र ढुंगा
काठमाडौं । अतिक्रमित जग्गा खाली गराउने अभियान थालेको चन्द्रागिरि नगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा रहेका घर तथा टहरा भत्काउन थाले पनि त्यसपछि उत्पन्न भएको अवस्थाले नयाँ प्रश्न खडा गरेको छ । अतिक्रमण हटाउने नाममा सार्वजनिक सडक र पैदलयात्रुको सुरक्षामाथि बेवास्ता त भइरहेको छैन ?
त्रिभुवन राजपथअन्तर्गत कलंकी–गुर्जुधारा सडकखण्डमा एउटा टहरा भत्काइएपछि सडक पेटीमा माटो र ढुंगा थुपारिएको छ । पैदलयात्रुका लागि बनाइएको सडक पेटी अवरुद्ध भएपछि सर्वसाधारण सडकबाटै हिँड्न बाध्य भएका छन् ।
चन्द्रागिरि नगरपालिकाको पहलमा पहिलोपटक राखिएको ट्राफिक लाइटअगाडिको सडक पेटीमै माटो र ढुंगा थुपारिँदा व्यस्त सडकमा पैदलयात्रुको आवतजावत थप जोखिमपूर्ण बनेको छ । अतिक्रमित संरचना हटाउने अधिकार र त्यसपछि उत्पन्न हुने फोहोर तथा निर्माणजन्य सामग्री व्यवस्थापनको जिम्मेवारी कसको हो भन्ने प्रश्न पनि उठेको छ । टहरा भत्काएर सडक पेटीमा माटो, ढुंगा थुपारिएपछि पैदलयात्रुको नियमित आवागमन मात्र होइन, सडक सुरक्षामै असर पार्न थालेको छ ।
व्यस्त कलंकी–गुर्जुधारा सडकखण्डमा पैदलयात्रुका लागि सडक पेटी महत्वपूर्ण पूर्वाधार हो । तर संरचना हटाउने क्रममा सोही पेटी अवरुद्ध भएपछि पैदलयात्रुले सवारीसाधन गुड्ने सडकतर्फबाट हिँड्नुपर्ने अवस्था आएको छ । यसले अर्को प्रश्न जन्माउँछ—अतिक्रमण हटाउने अभियानसँगै प्रभावित सडक पेटी र सार्वजनिक स्थानलाई तत्काल पूर्ववत् व्यवस्थापन गर्ने योजना नगरपालिकासँग छ कि छैन ? अतिक्रमित सार्वजनिक जग्गा खाली गराउनु आफैंमा एउटा प्रशासनिक प्रक्रिया हो । तर, सार्वजनिक संरचना हटाइसकेपछि त्यसको अवशेष व्यवस्थापन, पैदलयात्रुको आवागमन कायम राख्ने व्यवस्था र सम्भावित दुर्घटना रोक्ने उपाय पनि त्यत्तिकै महत्वपूर्ण हुन्छन् ।
गुर्जुधारा सडकमा देखिएको अवस्थाले नगरपालिकाको अभियान केवल संरचना हटाउने काममा सीमित छ कि त्यससँगै प्रभावित क्षेत्रको पूर्ण व्यवस्थापनसमेत भइरहेको छ भन्ने विषयमा प्रश्न उठेको छ । गुर्जुधाराको उक्त स्थानमा थुपारिएको माटो र ढुंगा हटाएर पैदलयात्रुका लागि बाटो कहिले खुला गरिन्छ भन्ने विषयमा चन्द्रागिरि नगरपालिकाले अहिलेसम्म स्पष्ट धारणा सार्वजनिक गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?