अपांगता–अभिभावक समाज नेपालको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न
काठमाडौं । अपागंता–अभिभावक समाज नेपाल चन्द्रागिरि–१२, बलम्बुको “पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन“सम्पन्न भएको छ ।
चन्द्रागिरि नगरपालिकाको सभाहल आयोजित कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले अपांगता भएका व्यक्तिहरू र तिनका अभिभावकहरूका सवालका बिषयमा नगरपालिका सधै सकारात्मक रहेको र सबै प्रकारको सहयोगका लागि प्रतिबद्ध रहेको बताउनु भयो । नगरप्रमुख गिरीले नगरपालिका भित्र सबै प्रकारका अपांगता भएका व्यक्तिहरु अध्ययन गर्ने “समावेशी अपांगता विद्यालय“ स्थापना गर्न संस्थाको पहललाई नगरपालिका सहयोग गर्न तयार रहेको समेत बताउनु भयो । उहाँले अपांगता भएका व्यक्तिहरूका लागि चन्द्रागिरि नगरपालिका सधै अभिभावकको भुमिका निर्वाह गर्न तयार रहेको पनि बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठले अपांगता भएका व्यक्ति र तिनका अभिभावकहरू लाई संगठित गर्ने कार्य संस्थाको उत्कृष्ट रहेको र संस्थाले छोटो समयमा नै थुप्रै काम गर्न सफल पनि भएकोले आगामि दिनको सफलताको शुभकामना दिनुभयो । उहाँले आफ्नो तर्फबाट पदमा रहे पनि नरहेपनि सधै सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भयो ।
“अपांगता सबैको साझा सवाल, बनाउने हाम्रो अभियान“ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रमका अन्य वक्ताहरुले अपांगता भएका व्यक्तिको कुरा सुनिदिने निकायले नै गम्भीरतापूर्वक नलिँदा समस्या समाधान हुन नसकेको गुनासो गरेका थिए ।
कार्यक्रममा नेत्रहीन संघका सचिव तथा नेपाल टेलिकम बलम्बुका सहायक प्रशासकिय अधिकृत गौतम पोखरेलले आफै दृष्टिविहीन हुँदा समाजले आफू र आफ्ना परिवारलाई अपहेलना र अपशब्द प्रयोग गरेको तितो अनुभव सुनाउनु भयो ।
साधारण सभामा अपाङ्गता भएका ब्यक्ति र सांग व्यक्तिहरूको विवाहित ३ जोडिलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मान गर्ने क्रममा केन्द्रीय बहिरा मा.बि. नक्साल काठमाडौंबाट २०८२ को एइइ परिक्षामा उत्तीर्ण भएका २१ जना वहिरा अपांगता भएका विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो । सोही कार्यक्रममा एकता समाज बहुउद्देश्यीय सहकारी संस्था लि. बलम्बुको आर्थिक सहयोगमा अपांगता भएका व्यक्तिलाई ह्विल चियर र संस्थाको आफ्नै स्रोतबाट २ जना अपांगता भएका व्यक्तिलाई एल लठ्ठी वितरण गरिएको थियो ।
साधारण सभामा संस्थाको २०८२/२०८३ को वार्षिक प्रगति प्रतिवेदन तथा भावि योजना सहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
अधिवेशनबाट अध्यक्ष टेकबहादुर बमको नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?