भोटेकोशी बाढी प्रभावित यातायात व्यवसायीलाई विवरण बुझाउन नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको आग्रह
काठमाडौं । भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा पुगेको क्षतिको यथार्थ विवरण संकलन गर्न नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले प्रभावित व्यवसायी, स्वरोजगार चालक तथा सवारी संचालकलाई आवश्यक कागजातसहित क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा सिर्जित असामान्य तथा प्रतिकूल अवस्थाबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकनका लागि गठित समितिको निर्णयअनुसार विवरण संकलन गर्न लागिएको समितिका अध्यक्ष अमर श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले आफ्ना सदस्य व्यवसायी, स्वरोजगार चालक, सवारी संचालक तथा बाढीबाट प्रभावित व्यवसायी परिवारका सदस्यलाई सात दिनभित्र आवश्यक विवरण र प्रमाण बुझाउन आग्रह पनि गरेको छ ।
अध्यक्ष श्रेष्ठले क्षतिको विवरण सम्बन्धित व्यक्ति वा परिवार तथा यातायात व्यवसायीबाट प्रत्यक्ष रूपमा, अनलाइन वा इमेलमार्फत तथा समितिमा लिखित रूपमा उपलब्ध गराउन सकिने उल्लेख गर्नुभयो । विवरणसँगै हराएका सवारीसाधनको पहिचान खुल्ने कागजात, सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) को प्रतिलिपि, चालक वा सहचालकको परिचय खुल्ने कागजात, यात्रु हराएको भए परिवार वा सम्बन्धित व्यक्तिबाट पुष्टि हुने विवरण, उपलब्ध फोटो तथा भिडियो र क्षतिको तथ्यांकको स्रोत खुल्ने प्रमाण पेस गर्न श्रेष्ठले आग्रह गर्नुभएको छ ।
यसअघि पूर्वाधार विकासमन्त्रीको अध्यक्षतामा भदौ २९ गते बसेको बैठकबाट यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा क्षति मूल्यांकन समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?