जनकपुरमा आगलागी हुँदा एक जनाको मृत्यु, सर्लाहीमा मोटरसाइलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो
काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार महोत्तरीको लोहारपट्टी नगरपालिका–२ का ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको हो । गएराति भएको आगलागीबाट घरायसी सामानसहित तीन लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय निकायका वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।
उता, सर्लाहीको गम्हरियामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति गम्हरियामा मोटरसाइकलको ठक्करबाट ७० वर्षका वाल्मिकी रायको मृत्यु भएको हो । सोही मोटरसाइकलको ठक्करबाट साइकलचालक मलंगवा नगरपालिका–४ का ५९ वर्षका महेश महतो घाइते भएका छन् । उनको निजको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल र चालक कविलासी–६ का रामलोचन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?