काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानबाट प्राप्त उपलब्धिलाई नागरिकको दैनिक जीवनसँग जोड्दै बाँकी काम पूरा गर्नुपर्ने बताउनु भयो ।
संविधान दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानले परिकल्पना गरेको परिवर्तनलाई व्यवहारमा कार्यान्वयन गर्न सबै पक्षको एकताबद्ध प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो ।
संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिकले प्राप्त गरेका अधिकारलाई कमजोर बनाउने वा पछाडि फर्काउने प्रयास स्वीकार्य नहुने उहाँको भनाइ छ । संविधानका मूल्य तथा नागरिकका अधिकारको संरक्षणका लागि लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा दाहालले जोड दिनुभयो ।
दाहालले राजनीतिक परिवर्तनलाई आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्नुपर्ने बताउँदै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले नेपालको संविधानलाई केवल कानुनी दस्तावेजका रूपमा नभई नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्तिका रूपमा व्याख्या गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?