काठमाडौं । कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय भोगिरहेको कैदी भागेको घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको छ ।
गत असोज ३१ गते राति २ः०० बजेतिर पोखरा महानगरपालिका–१८ खपौदीका ३७ वर्षीय कैदी सन्तोष जलारी बिजुली मर्मतका लागि कारागारमा लगिएको भ¥याङ चढेर भागेका थिए ।
कारागारबाट फरार जलारीलाई प्रहरीले कात्तिक ३ गते पोखराकै एक होटलबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले कैदी जलारी योजनाबद्ध रुपमा भागेको बताएका छन् । जलारीले कारागारभित्र पसलसमेत चलाएर बस्ने गरेको कार्कीको भनाइ छ । कारागारको सुरक्षार्थ खटिएको प्रहरी र कैदीका नाइकेको पर्याप्त ध्यान नपुग्दा जलारी भाग्न सफल भएको कार्कीले बताएका छन् ।
कारागारबाट यसरी कैदी भागेका घटना बिरलै हुने गरेको भन्दै कारागारको सुरक्षा संवेदनशीलतामा विशेष रुपले ध्यान यस घटनाले सम्बद्ध पक्षलाई झकझक्याएको जिल्ला प्रहरी कार्यालय, कास्कीको भनाइ छ । कारागारका जेलर घनश्याम गौतमले भोलिपल्ट बिहान मात्र कैदी गणनाका क्रममा जलारी भागेको थाहा भएको बताएका छन् । कैदी भागेको घटनापछि कारागारको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न र चासो व्यक्त हुनु स्वभाविक भएको उनको भनाइ छ ।
भागेका कैदी जलारी प्रहरीको सक्रियतामा दुई दिनमै नियन्त्रणमा आएको जेलर गौतमले बताएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले जलारीलाई पक्राउ गरेको थियो । उनीमाथि कारागार ऐनसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?