काठमाडौं । लगातारको वर्षाले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारका लागि निर्धारित लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल संचालन गर्न योग्य नभएपछि खेल स्थगित गरिएको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले बिहीबार रातिदेखि परेको अविरल वर्षाले मैदान पूर्णरूपमा भिजेपछि खेल खेलाउन नसकिने भन्दै स्थगित गरिएको जानकारी दिनुभयो ।
खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् । यस निर्णयले लुम्बिनी लायन्स र चितवन राइनोज दुवैलाई प्रतियोगिताको अंक तालिकामा एक–एक अंक प्राप्त भएको छ ।
यसैबीच, शुक्रबार नै हुने तालिकामा रहेको दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल अपराह्न ५ बजे सुरु हुने पूर्वनिर्धारित कार्यक्रम छ । तर, लगातारको वर्षाले यो खेलसमेत प्रभावित हुन सक्ने सम्भावना देखिएको छ ।
कात्तिक ९ गतेदेखि सुरु भएको एनपिएल प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म संचालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?