एनपीएल : काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
आजको पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ बजे संचालन हुनेछ । दुवै खेलले प्रतियोगिताको अंक तालिकामा टोलीहरूको अवस्थालाई थप प्रभाव पार्ने भएकाले प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।
यस संस्करणमा चितवन राइनोजले अहिलेसम्म हार बेहोरेको छैन । पहिलो खेलमा जित निकालेको चितवनको दोस्रो खेल भने वर्षाका कारण रद्द भएपछि विपक्षी टोलीसँग अंक बाँडिएको थियो ।
उता, सुदूरपश्चिम रोयल्सले अहिलेसम्म खेलेका तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ । आजको खेलमा चितवन आफ्नो अपराजित यात्रा कायम राख्ने र सुदूरपश्चिम जितको लय समात्ने लक्ष्यमा हुनेछन् ।
यसैबीच, चितवन राइनोजलाई समर्थन गर्न चितवनबाट ठूलो संख्यामा समर्थक काठमाडौं आउने भएका छन् । आज साँझ हुने खेलमा सहभागी हुन क्लबले टिकट खरिद गरेका समर्थकका लागि निःशुल्क बस सेवा उपलब्ध गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?