काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं.१४, नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयमा सप्ताहव्यापी खेलकुद प्रतियोगिता (Sports Meet) सुरु भएको छ । एक सातासम्म सञ्चालन हुने खेल सप्ताहमा फुटसल, ब्याडमिन्टन, कबड्डी, म्याराथनलगायत १८ विधाका खेल प्रतियोगिता समावेश गरिएको छ ।
खेल सप्ताहको उद्घाटन काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाईकृष्ण बलामीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि बलामीले खेलको प्रतीकका रूपमा रहेको फ्लेमिङ ल्याम्प विद्यार्थीहरूलाई हस्तान्तरण गर्दै खेल सप्ताहको औपचारिक उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बलामीले खेलकुद विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि महत्वपूर्ण माध्यम भएको बताउनुभयो । खेलकुदले विद्यार्थीमा अनुशासन, धैर्यता, आत्मविश्वास र सहकार्यको भावना विकास गर्नुका साथै भविष्यमा सक्षम नागरिक तथा राष्ट्रका आधारस्तम्भ तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने बलामीको भनाइ थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै विद्यालयका अध्यक्ष एवम् कार्यक्रमको सभापति मोहन कार्कीले विद्यार्थीमा रहेको खेल प्रतिभाको पहिचान तथा विकास गर्ने, शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने तथा अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक दयाराम थापाले अध्ययनसँगै खेलकुद तथा अन्य सह–पाठ्यक्रमीय गतिविधिलाई विद्यार्थीको सर्वाङ्गीण विकासको महत्वपूर्ण माध्यमका रूपमा अघि बढाउँदै आएको बताउनुभयो । उहाँले प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान तथा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
एक सातासम्म सञ्चालन हुने प्रतियोगितामा विद्यार्थीहरूले विभिन्न खेल विधामा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउनेछन् । खेल सप्ताहको समापन कार्तिक २० गते शुक्रबार विद्यालय प्राङ्गणमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?