काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न साढे ४ बजे सुरु हुनेछ ।
दुई टोलीबीच यसअघिका दुई संस्करणमा भएका दुवै भेटमा सुदूरपश्चिम विजयी भएको थियो । सन् २०२४ मा सुदूरपश्चिमले पोखरालाई पाँच रनले हराएको थियो भने सन् २०२५ मा १८ रनले पराजित गरेको थियो ।
सुदूरपश्चिमले पहिलो संस्करण र दोस्रो संस्करण दुवैमा फाइनल खेले पनि उपविजेतामै सीमित भएको थियो । यसपटक टोली उपाधि जित्ने लक्ष्यमा छ । कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो । त्यसैले पोखराविरुद्धको खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने दबाब टोलीमाथि छ ।
पोखरा भने यस सिजनको पहिलो खेल खेल्दैछ । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा अघिल्ला दुई संस्करणमा प्लेअफमा पुग्न सकेको थिएन । यसपटक सुदूरपश्चिमलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्ने उसको लक्ष्य हुनेछ ।
यस खेलमा दुवै टोलीका नेपाली तथा विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुनेछ । सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनल पुग्ने लक्ष्यमा रहँदा पोखरा पहिलोपटक प्लेअफमा पुग्ने अभियानलाई बलियो बनाउन चाहन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?