काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुआत गरेको छ ।
मंगलबार सम्पन्न खेलमा चितवनले विराटनगर किङ्सलाई ८ रनले हराएको हो । जितसँगै चितवनले २ अंक जोडेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो ।
विराटनगरका इमरान शेखले सर्वाधिक ३९ रन बनाए । ३१ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । आन्द्रे रसलले १७ बलमा १ चौका र छक्कासहित ३३ रन बनाए । लोकेश बम २६ र बसीर अहमद १३ रनमा आउट हुँदा अन्यको ब्याटिङ चल्न सकेन । चितवनका कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २६ रन खर्चिए । रिजन ढकालले २ तथा टम टेलर, रञ्जित कुमार, मौसम ढकाल र डान मौउस्लेले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । चितवनका ओपनर डेभिड मलानले सर्वाधिक ७० रन बनाए । ५० बल खेलेका उनले ५ चौका र ५ छक्का प्रहार गरे । कप्तान रवी बोपाराले अविजित ३२ रन बनाए । २६ बल खेलेका उनले १ चौका र २ छक्का प्रहार गरे । डान मौउस्ले २९ रनमा अविजित रहँदा देव खनालले १२ रन बनाए । विराटनगरका एन्जेले म्याथ्यू, आन्द्रे रसेल र चारिथ असलंकाले समान १ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?