गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण सुस्त, निर्धारित समयमै सकिनेमा आशंका
काठमाडौं । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले अपेक्षित गति लिन नसक्दा निर्धारित समयमै निर्माण सम्पन्न हुनेमा आशंका बढेको छ । आगामी पुस २७ गतेसम्म निर्माण पूरा गर्ने लक्ष्य राखिए पनि हालसम्म भौतिक प्रगति करिब ६५ प्रतिशत मात्रै पुगेको छ । बजेट निकासामा भएको ढिलाइ, निर्माण सामग्रीको मूल्यवृद्धि र प्राविधिक जटिलताका कारण आयोजना प्रभावित भएको सम्बन्धित अधिकारीहरूले बताएका छन् ।
भरतपुर महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलले बागमती प्रदेश सरकारबाट हुनुपर्ने बजेट निकासा समयमै नहुँदा निर्माण कम्पनीले केही समय काम रोकेको थियो । रङ्गशाला निर्माणमा ७० प्रतिशत रकम प्रदेश सरकार र ३० प्रतिशत महानगरपालिकाले व्यहोर्ने गरी सम्झौता गरिएको छ । बजेट भुक्तानीमा भएको ढिलाइसँगै निर्माण कम्पनीको कामको गति पनि अपेक्षाअनुसार नहुँदा सम्झौताअनुसार निर्धारित मितिमा आयोजना सम्पन्न गर्न कठिन देखिएको उहाँले बताउनुभयो ।
निर्माण कम्पनीका व्यवस्थापक सम्राट सिलवालले निर्माण सामग्रीको मूल्यवृद्धि, मौसममा हुने परिवर्तन र पुरानै संरचनामा थप निर्माण गर्नुपर्दाका प्राविधिक समस्याले काममा असर पारेको बताउनुभयो । पुराना संरचनासँग नयाँ निर्माणलाई जोड्ने क्रममा प्राविधिक निर्णयमा देखिएका जटिलताले समेत कामको गति प्रभावित भएको उहाँको भनाइ छ । मुख्य मैदान निर्माणको काम बाँकी रहेकाले पुस मसान्तभित्र सम्पूर्ण काम सकिने अवस्था नरहेको भन्दै कम्पनीले महानगरपालिकासँग निर्माण अवधि थप गर्न आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
निर्माण अवधि सकिन लाग्दा रङ्गशालाको पहिलो भेरिएसन अर्डर (भीओ) गत असोज २८ गते स्वीकृत भएको छ । सुरुमा भ्याटसहित ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएकोमा संशोधनपछि लागत बढेर ८६ करोड २४ लाख ८४ हजार रुपैयाँ पुगेको छ । लागत वृद्धि हुनुका साथै निर्माण कार्यको दायरासमेत थपिएकाले निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न थप चुनौती देखिएको निर्माण कम्पनीको भनाइ छ ।
भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यले अहिले मैदान निर्माण मुख्य बाँकी काम हो । मैदानमा माटोका चार तह तयार गरी पाइप जडान गर्नुपर्नेछ । त्यसपछि नरम माटो बिछ्याएर बरुणा जातको घाँस रोप्ने काम हुनेछ । मैदान तयार भएपछि क्रिकेट खेल सञ्चालनका लागि आवश्यक संरचना पूरा गर्न सहज हुने उहाँले बताउनुभयो ।
रङ्गशालाका दुईवटा टावरको निर्माण अन्तिम चरणमा पुगेको छ । चारवटा प्यारापिटमध्ये दुईवटाको काम सम्पन्न भएको छ भने तेस्रो प्यारापिटको प्रगति ९० प्रतिशत र चौथोको ७० प्रतिशत पुगेको छ । विद्युत् जडानको काम पनि बाँकी छ । निर्माण कम्पनीले नियमित रूपमा काम अघि बढाएमा बाँकी संरचना पूरा गर्न धेरै समय नलाग्ने इन्जिनियर आचार्यको भनाइ छ । हाल दैनिक करिब ८० जना श्रमिक निर्माणस्थलमा खटिएका छन् । दशैँको समयमा पनि निर्माण कार्य जारी राखिएको उहाँले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारको सहकार्यमा वि.सं. २०८१ असार २४ गते हिमालयन–कालिञ्चोक बीबीआर जेभीसँग सम्झौता भएपछि रङ्गशालाको निर्माण पुनः अघि बढाइएको थियो ।
यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक अभावले निर्माणलाई निरन्तरता दिन नसक्ने जनाउँदै आयोजनाको दायित्व महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । त्यसपछि प्रदेश सरकारको ७० प्रतिशत र महानगरपालिकाको ३० प्रतिशत लगानी साझेदारीमा अलपत्र अवस्थामा रहेको आयोजना अघि बढाइएको हो ।
देशभर क्रिकेटप्रतिको आकर्षण बढ्दै गएको र चितवन राइनोजजस्ता राष्ट्रियस्तरका टोलीको उपस्थिति रहेकाले भरतपुरमा अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने पूर्वाधारको आवश्यकता बढेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)प्रति बढ्दो चासोका कारण पनि रङ्गशाला निर्माण चाँडो सम्पन्न गर्नुपर्ने दबाब छ । आयोजना पूरा भएपछि चितवनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ ।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको तर्फबाट गर्नुपर्ने सहजीकरणका काममा सहयोग भइरहेको बताउँदै निर्माणलाई तीव्रता दिन कम्पनीलाई आग्रह गर्दै आएको जानकारी दिनुभयो । गत आर्थिक वर्षमा भुक्तानीमा केही ढिलाइ भए पनि अन्य विषयमा महानगरले सहजीकरण गरेको उहाँको भनाइ छ ।
क्रिकेटको बढ्दो लोकप्रियतासँगै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सम्भावना बोकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माणमा भएको ढिलाइले खेलप्रेमी र स्थानीयवासीको प्रतीक्षा लम्बिएको छ । अब बाँकी संरचनाको काम, मैदानको तयारी र विद्युत् जडान निर्धारित समयमै पूरा हुन्छ कि निर्माण अवधि थप गर्नुपर्ने हुन्छ भन्ने विषय आयोजना कार्यान्वयनको आगामी गतिमा निर्भर रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?