विश्व अराशी एमएमए च्याम्पियनसिपमा नेपाललाई ७ स्वर्णसहित १३ पदक
काठमाडौं । भारतमा आयोजित तेस्रो विश्व अराशी एमएमए च्याम्पियनसिप २०२६ मा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ७ स्वर्ण, ४ रजत र २ कांस्य गरी कुल १३ पदक जित्न सफल भएका छन् ।
पञ्जाबको लुधियानामा सम्पन्न भएको प्रतियोगितामा नेपाली खेलाडीहरूले विभिन्न तौल समूह तथा विधामा प्रतिस्पर्धा गर्दै पदक जितेका हुन् । नेपालका लागि ओम प्रकाश कोलीले ५० केजी तौल समूहमा, सोनी तामाङ महिला ५० केजी तौल समूहमा, प्रान्जल बोहोरा पुरुष ३० केजी तौल समूहमा, फुर्साङ तामाङ महिला ४२ केजी तौल समूहमा, शीतल कोली महिला ४० केजी तौल समूहमा, सृजना बिसी महिला ४६ केजी तौल समूह र प्रयास खत्रीले पुरुष ५८ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी तुफान खड्का, उत्सव पुरी, सुभास चौधरी र करण सिर्पालीले रजत पदक प्राप्त गरे भने सिद्धार्थ साउद र समीर बिकले कांस्य पदक हात पारे । प्रतियोगितामा नेपालसहित कजाखस्तान, रसिया, अजरबैजान, ताजकिस्तान, जर्मनी , पाकिस्तान, बंगलादेश, तुर्कमेनिस्तान, अफगानिस्तान, भारत, न्युजिल्याण्ड, किर्गिस्तान, लगायतका देशले सहभागिता जनाएको नेपाल अराशी एमएमए संघका उपाध्यक्ष भुवन कुमार केसीले जानकारी दिए ।
खेलाडीहरूको मेहनत, प्रशिक्षकहरूको मार्गदर्शन तथा टोलीका पदाधिकारीहरूको समन्वयले नेपाली टोलीको प्रदर्शनलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उपाध्यक्ष केसीले बताएका छन् ।
प्रतियोगितामा सहभागी हुनुअघि नेपाल अराशी एमएमए संघले एक विशेष कार्यक्रमको आयोजना गरी नेपाली खेलाडी तथा टोलीका सदस्यहरूलाई बिदाइ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?