मलेखु–मुग्लिङ सडक आज तीन घण्टा बन्द, ट्राफिक नियमको पालना गर्न प्रहरी प्रभाग कार्यालय नागढुंगाको आग्रह
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज तीन घण्टाका लागि पूर्णरूपमा बन्द गरिने भएको छ । धादिङको मझिमटारमा निर्माणाधीन आकाशे पुलमा यात्रु आवागमन गर्ने भागको गर्डर राख्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन रोक्न लागिएको हो ।
प्रहरी प्रभाग कार्यालय नागढुंगाका कार्यालय प्रमुख प्रहरी निरीक्षक अजय जंग थापाले पुलको संरचना जडान गर्ने कार्यलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जानकारी दिनुभयो । उहाँले उक्त अवधिमा मलेखु–मुग्लिङ सडकखण्ड भएर संचालन हुने सबै प्रकारका सवारीसाधनलाई आवागमनमा रोक लगाइने जानकारी दिनुभयो । उहाँले सवारीचालकलाई लेन अनुशासन कायम राख्न र ट्राफिक नियमको पूर्णरुपमा पालना गर्न अनुरोध गर्नुभएको छ ।
नागढुंगा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रले सडक बन्द रहने समयमा सवारीसाधनलाई निर्धारित स्थानमै रोकेर राख्न तथा अनावश्यक रूपमा आवागमनको प्रयास नगर्न आग्रह गरेका छन् ।
आयोजनाले निर्माण कार्यका कारण यात्रु तथा सवारीचालकलाई पर्न जाने असुविधाप्रति आयोजनाले क्षमायाचना गर्दै आवश्यक सहयोग र धैर्यताका लागि आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?