चन्द्रागिरि साहित्य सरोवरको ५७औँ श्रृंखलामा महाकवि देवकोटा जन्मजयन्ती मनाइँदै
काठमाडौं । चन्द्रागिरि साहित्य सरोवरले आफ्नो ५७औँ नियमित श्रृंखलाका अवसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विशेष साहित्यिक कार्यक्रमका साथ मनाउने भएको छ ।
यही कार्तिक १४ गते बिहान ११ः३० बजे चन्द्रागिरि नगरपालिका–तीनथानास्थित मुनाल क्लबमा कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रममा महाकवि देवकोटाको तस्बिरमा माल्यार्पण गरी उहाँप्रति श्रद्धासुमन अर्पण गरिनेछ । साथै, देवकोटाद्वारा रचित साहित्यिक कृतिको वाचन, उहाँसँग सम्बन्धित लेख, रचना, कविता, गीत तथा गजल प्रस्तुत गरिने आयोजकले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथिबाट महाकवि देवकोटाको व्यक्तित्व, कृतित्व र नेपाली साहित्यमा उहाँले पु¥याउनुभएको योगदानबारे मन्तव्यसमेत रहनेछ ।
नेपाली साहित्यका विशिष्ट साधक देवकोटाको साहित्यिक योगदानको स्मरण गर्दै नयाँ पुस्तामा साहित्यप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा साहित्यकार, सर्जक, साहित्यप्रेमी तथा सर्वसाधारणलाई उपस्थितिका लागि आयोजकले निमन्त्रणा गरेको छ । विशेषगरी विद्यालयका छात्रछात्रालाई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ । विद्यार्थीहरूले आफ्ना साहित्यिक रचना वाचन गर्न पाउनेछन् भने रचना वाचन गर्ने विद्यार्थीका लागि पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
चन्द्रागिरि साहित्य सरोवरले नियमित रूपमा साहित्यिक कार्यक्रम सञ्चालन गर्दै साहित्य, सिर्जना र पठन संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?