काठमाडौं । सुनसरी प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज १८ गते राति करिब ११ः४० बजे इटहरी उपमहानगरपालिका–२ स्थित सडकखण्डमा अस्थायी प्रहरी पोष्ट खनारबारी र ट्राफिक प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख १८२५ नम्बरको ट्रक शंकास्पद लागी रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा ट्रकभित्र लुकाइछिपाइ राखिएको गाँजाजस्तो देखिने पदार्थका ८३ बोरा फेला परेको प्रहरीले जनाएको छ । उक्त पदार्थ तौल गर्दा २ हजार ५ सय ६६ दशमलव ५६ किलो रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राई र सहचालक १८ वर्षीय सन्दिप राईलाई नियन्त्रणमा लिई लागूऔषध गाँजा र ट्रकसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?