अविरल वर्षाले ठाउँ–ठाउँमा सडक अवरुद्ध, धादिङ, नुवाकोट र रसुवामा यातायात ठप्प
काठमाडौं । अविरल वर्षाका कारण धादिङ, नुवाकोट र रसुवा जिल्लाका सडक विभिन्न स्थानमा अवरुद्ध भएका छन् । अविरल वर्षासँगै खसेको पहिरो र लेदोका कारण धादिङको ज्यामिरे, कृष्णभिर, जवानखोला, मलेखु परेवाभिर कमेरेभिर र खहरेमा बाटो बन्द भएको जिल्ला प्रशासन कार्यालय, धादिङका अनुसार वर्षा निरन्तर भइरहेका कारण सडक तत्काल सुचारु हुने सम्भावना नरहेको र पहिरो हटाउने प्रयास निरन्तर जारी रहेको जानकारी दिएको छ । प्रशासन कार्यालयले पहिरोग्रस्त क्षेत्रमा यात्रा गर्दा उच्च जोखिम भएकाले यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
यता, जिल्ला प्रशासन कार्यालय नुवाकोटले वर्षाका कारण जिल्लामा आवागमनमा समस्या भएको जनाएको छ । अवरिल वर्षाका कारण हुनसक्ने सम्भावित विपदप्रति उच्च सतर्कता अपनाइएको जनाउँदै कार्यालयले सुरक्षा समिति, उद्धार टोली सबै तयारी अवस्थामा राखिएको जानकारी दिएको छ ।
यसैगरी, रसुवामा भोटेकोशी बाढीका कारण पहिलेदेखि नै सडक क्षतिग्रस्त भएको र वैकल्पिक मार्ग समेत वर्षाका कारण अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय, रसुवाले सतर्क रहन सर्वसाधारणलाई अपील गरेको छ भने सुरक्षा निकाय, स्थानीय तह सजग अवस्थामा रहेका जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रु तथा सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत समस्या उत्पन्न भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?