चन्द्रागिरिले भोटेकोशी बाढीपीडितका लागि ५१ लाख सहयोग, नगरबासीको खोजी तथा उद्दारका लागि ५० हजार रुपैयाँ छुट्यायो
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चन्द्रागिरि नगरपालिकाले ५१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले उक्त रकम बाढीपीडित राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको हो । भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभावित क्षेत्रमा खोज तथा उद्धार तथा राहत वितरणका काम जारी रहेका बेला नगरपालिकाले सहयोग गर्ने निर्णय गरेको हो ।
बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न तथा पुनःस्थापनाका काममा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले संस्थागत रूपमा आर्थिक सहयोग गर्न लागेको जनाएको हो । बाढीले घर, व्यवसाय तथा अन्य संरचनामा क्षति पुगेका परिवारलाई राहत र पुनःस्थापनाका लागि विभिन्न निकाय तथा स्थानीय तहबाट सहयोग जुटाउने क्रम जारी छ ।
यसअघि पनि विभिन्न स्थानीय तहले भोटेकोशी बाढी प्रभावित नागरिकका लागि आर्थिक सहयोग घोषणा गरिसकेका छन् ।
यसैबीच, चन्द्रागिरि नगरपालिकाले आफ्नै नगर क्षेत्रका बाढी तथा प्राकृतिक विपद्ले सम्पर्कविहीन भएका नागरिकको खोज तथा उद्धारका लागि थप ५० हजार रुपैयाँ छुट्याउने निर्णय गरेको छ । नगरपालिकाले उक्त रकम सम्पर्कविहीन नागरिकको खोजी, उद्धार तथा आवश्यक समन्वयमा खर्च गरिनेछ ।
भोटेकोशी बाढीपछि विभिन्न जिल्लाका नागरिक बेपत्ता तथा सम्पर्कविहीन भएको अवस्थामा चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरबासीको अवस्थाबारे जानकारी लिन र उनीहरूको खोज तथा उद्धारमा समेत प्राथमिकता दिएको छ । सम्पर्कविहीन नागरिकको खोजीका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने नगरपालिकाले जनाएको छ ।
बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण र पुनःस्थापनाका काम चुनौतीपूर्ण भइरहेका छन् । यस्तो अवस्थामा स्थानीय तहबाट हुने आर्थिक सहयोग तथा समन्वयले प्रभावित परिवारलाई राहत उपलब्ध गराउन र पुनःस्थापनाको काम अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
चन्द्रागिरि नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि आर्थिक सहयोग उपलब्ध गराउनुका साथै आफ्ना नगरबासी सम्पर्कविहीन भएको अवस्थामा उनीहरूको खोज तथा उद्धारमा समेत आवश्यक पहल गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?