इन्द्रजात्राका लागि लिंगो ल्याइँदै, भक्तपुरको चित्तपोल वनको रुख काट्ने परम्परा
काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक लिंगो ल्याउने तयारी गरिएको छ । इन्द्रजात्रामा विधिपूर्वक ठड्याइने लिंगोका लागि आवश्यक काठ परम्पराअनुसार छनोट गरी काठमाडौं ल्याउन लागिएको हो । भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिंगो उठाउन रुख काट्ने परम्परा रहिआएको छ ।
इन्द्रजात्राको मुख्य आकर्षणका रूपमा रहेको लिंगो हनुमानढोका दरबार क्षेत्रस्थितमा ठड्याइने गरिन्छ । लिंगो ठड्याएसँगै इन्द्रजात्राका विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सुरु हुने गर्छन् ।
परम्पराअनुसार लिंगो ल्याउने, पूजा गर्ने र ठड्याउने छुट्टाछुट्टै विधि रहेका छन् । लिंगो ल्याउने क्रममा विभिन्न बाजागाजा तथा सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने भएकाले यसलाई जात्राको महत्त्वपूर्ण पक्षका रूपमा लिइन्छ ।
इन्द्रजात्रा काठमाडौँ उपत्यकाको प्रमुख सांस्कृतिक पर्व हो । विशेषगरी काठमाडौंको हनुमानढोका क्षेत्रमा विभिन्न देवीदेवताको पूजा, कुमारी, गणेश तथा भैरवको रथयात्रा र अन्य सांस्कृतिक गतिविधि आयोजना हुने गर्छन् ।
लिंगो ठड्याउने परम्पराले इन्द्रजात्राको औपचारिक सुरुआतको संकेत गर्ने भएकाले यसको धार्मिक तथा सांस्कृतिक महत्व रहेको संस्कृतिविद्हरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?