काठमाडौं । चन्द्रागिरि नगरपालिकास्थित हाइभिजन कोलोनीको मुख्य प्रवेशद्वार अगाडिको सडक क्षेत्रलाई दुर्घटनाग्रस्त क्षेत्र घोषणा गरिएको छ । उक्त क्षेत्रमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएपछि प्रहरी प्रभाग थानकोटले आइतबार बिहान दुर्घटनाग्रस्त क्षेत्रको संकेत बोर्ड राखेको हो ।
कलंकी–नागढुंगा सडकखण्डअन्तर्गत पर्ने हाइभिजन कोलोनी प्रवेश गर्ने मार्गमा सवारीसाधनको चापसँगै तीव्र गतिका कारण दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीयको भनाइ छ । विशेषगरी कोलोनीको गेट आसपासको सडक क्षेत्रमा दैनिकजसो सवारी दुर्घटना हुन थालेपछि स्थानीयवासी तथा कोलोनीमा आवतजावत गर्ने सर्वसाधारण त्रसित हुँदै आएका छन् ।
दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै प्रहरी प्रभाग थानकोटले उक्त क्षेत्रमा सवारी चालकलाई सचेत गराउने उद्देश्यले संकेत बोर्ड राखेको जनाएको छ । मेडपोइन्ट अस्पतालको सहकार्यमा बोर्ड राखिएको हो । दुर्घटनाग्रस्त क्षेत्रको संकेत बोर्ड राखिएसँगै उक्त सडकमा सवारी चालकलाई गति नियन्त्रण गर्न, सावधानी अपनाउन तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । हाइभिजन कोलोनी प्रवेश गर्ने मार्ग मुख्य सडकसँग जोडिएको तथा बाक्लो बस्ती नजिक रहेकाले यहाँ पैदलयात्री र सवारीसाधनको आवतजावत समेत उल्लेख्य हुने गरेको छ । मुख्य सडकबाट कोलोनीतर्फ मोडिने तथा कोलोनीबाट मुख्य सडकतर्फ निस्कने क्रममा सवारीसाधनको गति र सडकको अवस्थाका कारण जोखिम बढ्ने गरेको स्थानीयको गुनासो छ ।
दुर्घटना निरन्तर बढ्न थालेपछि हाइभिजन कोलोनी समाजका अध्यक्ष तारा बहादुर केसीको नेतृत्वमा यसअघि नै प्रहरी प्रभाग थानकोटलाई औपचारिक पत्र लेख्दै दुर्घटना न्यूनीकरणका लागि आवश्यक उपाय अवलम्बन गर्न आग्रह गरेको थियो । समाजले सडकमा आवश्यक संकेत, सवारीको गति नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा जोखिमयुक्त स्थान पहिचान गरी सुरक्षा उपाय अपनाउनुपर्ने माग राख्दै आएको थियो ।
स्थानीयका अनुसार दुर्घटना भइसकेपछि मात्रै उद्धार र उपचारमा ध्यान दिनुभन्दा जोखिमयुक्त क्षेत्र पहिचान गरी पूर्वसावधानी अपनाउनु आवश्यक छ । सडकमा पर्याप्त संकेत तथा चेतावनी बोर्ड, रातको समयमा देखिने गरी प्रकाशको व्यवस्था, सडक बत्ती, जेब्राक्रसिङ तथा आवश्यक ट्राफिक व्यवस्थापनका उपाय प्रभावकारी रूपमा लागू गर्न सके दुर्घटनाको जोखिम घटाउन सकिने उनीहरूको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?