काठमाडौं । लमजुङ र मनाङलाई जोड्ने प्रमुख मार्ग बेंसीसहर–चामे सडकको बेंसीसहर नगरपालिका–६ स्थित खरखरे भीर आसपास सडक भाँसिएपछि यात्रा जोखिमपूर्ण बनेको छ । सडकको केही भाग भाँसिनुका साथै ठाउँठाउँमा चिरा परेपछि सवारीसाधन संचालनमा समेत समस्या देखिएको छ ।
खरखरे क्षेत्रमा सडकको तल्लो भाग कमजोर बनेको र केही स्थानमा सडक मुनि खाली भागसमेत देखिएको स्थानीय र सवारी चालकले बताएका छन् । यसअघि गरिएको सडक ढलानसमेत भासिएर चिरा परेको छ । सडकको अवस्था कमजोर भएकाले ठूलो सवारीसाधन गुड्दा थप क्षति हुने जोखिम बढेको छ ।
बेंसीसहरदेखि खरखरेसम्मको करिब तीन किलोमिटर क्षेत्रमा विभिन्न ठाउँमा सडक भासिएको पाइएको छ । पुमाखोला आसपास सडकको केही भाग भासिएको छ भने चनौटे–मगरगाउँ आसपास पनि सडकमा क्षति पुगेको छ । खरखरे क्षेत्रमा पहिरोको जोखिम कायमै रहेको छ ।
वर्षायाममा लगातार पानी पर्दा यस सडकखण्डमा पहिरो जाने र सडक भासिने समस्या दोहोरिँदै आएको छ । पछिल्ला दिनमा खरखरे भीरमा पहिरो खसेर सडक केही समय अवरुद्धसमेत भएको थियो । पहिरो हटाएपछि सडक एकतर्फी संचालनमा ल्याइए पनि वर्षा जारी रहेकाले जोखिम भने कायमै रहेको छ ।
बेंसीसहर–चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य मार्ग हो । करिब ६५ किलोमिटर लामो यो सडकबाट मनाङका बासिन्दाको आवतजावतसँगै दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री र अन्य सामान ढुवानी हुने गर्छ । पर्यटनका लागि मनाङ पुग्ने यात्रुका लागि पनि यो प्रमुख सडक हो ।
सडकको अवस्था कमजोर हुँदा यात्रु तथा चालकले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था आएको छ । सडक भासिएको भागको तत्काल संरक्षण, मर्मत र आवश्यक संरचना निर्माण नगरे वर्षाका कारण क्षति थप बढ्न सक्ने स्थानीयको चिन्ता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?