काठमाडौं । कास्की प्रहरीले गत भदौमा अदालतबाट दोषी ठहर भई सजाय तथा जरिवाना भुक्तान नगरी फरार रहेका ५६ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पर्नेमा ४० पुरुष र १६ महिला रहेको जनाएको हो । उनीहरूलाई फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया पूरा गरी कैद तथा जरिवाना असुल गर्न अदालतमा बुझाइएको छ ।
प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकृत वीरेन्द्रकुमार पासवानले चेक अनादर, बिगो लेनदेन, बैंकिङ कसुर, सवारी ज्यान र अभद्र व्यवहारलगायत मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका व्यक्ति रहेको जानकारी दिनुभयो । उनीहरुबाट २२ लाख ८९ हजार १७५ रुपैयाँ बिगो असुलउपर भएको बताउनु भयो ।
यसअघि साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ परेका थिए ।
यसैगरी, भदौमा कास्कीमा अपराधसम्बन्धी १६४ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये जघन्य तथा गम्भीर अपराधका २०, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ९, आर्थिक अपराधका १७ र अन्य प्रकृतिका ११८ मुद्दा रहेका छन् । सो अवधिमा चालु मुद्दामा ११५ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?