चन्द्रागिरिमा औषधि पसल सञ्चालनमा कडाइ, नियम उल्लंघन गरे कारबाही
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका औषधि पसल, फार्मेसी, निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक तथा आयुर्वेदिक, प्राकृतिक र युनानीलगायत वैकल्पिक चिकित्सा सेवासँग सम्बन्धित औषधि पसललाई प्रचलित कानुनअनुसार सञ्चालन गर्न निर्देशन दिएको छ ।
नगरपालिकाले औषधि पसल तथा फार्मेसी सञ्चालनसम्बन्धी कानुनी मापदण्ड अनिवार्य रूपमा पालना गर्न सार्वजनिक सूचना जारी गर्दै नियम उल्लंघन गरे कानुनी कारबाही गरिने जनाएको हो । प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपालीद्वारा हस्ताक्षरित सूचनाअनुसार औषधि पसलले औषधि व्यवस्था विभाग (DDA) मा दर्ता भएको प्रमाणपत्र तथा नगरपालिकाको व्यवसाय दर्ता र नवीकरण प्रमाणपत्र उपभोक्ताले स्पष्ट रूपमा देख्ने स्थानमा राख्नुपर्नेछ । त्यस्तै, नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएका फार्मासिस्ट वा फार्मेसी सहायक तथा वैकल्पिक चिकित्साको हकमा सम्बन्धित परिषदमा दर्ता भएका प्राविधिक स्वयं उपस्थित भई आफ्नो प्रत्यक्ष निगरानीमा मात्र औषधि बिक्री–वितरण गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले चिकित्सकको अनिवार्य प्रिस्क्रिप्सन आवश्यक पर्ने एन्टिबायोटिक तथा कडा खालका औषधि बिना पुर्जी बिक्री–वितरण नगर्न समेत निर्देशन दिएको छ । त्यसैगरी, लागूऔषध तथा मानसिक रोगमा प्रयोग हुने Narcotic/Psychotropic Drugs सुरक्षित दराजमा राखी खरिद–बिक्रीको अनिवार्य अभिलेख राख्नुपर्ने निर्देशन दिएको छ । कोल्ड चेन आवश्यक पर्ने औषधि फ्रिजमा सुरक्षित राख्नुका साथै दैनिक तापक्रमको अभिलेख अद्यावधिक गर्नुपर्ने र फ्रिजमा औषधिबाहेक अन्य खाद्य वा पेय पदार्थ राख्न नपाइने सूचनामा उल्लेख छ ।
म्याद नाघेका औषधि बिक्री कक्षमा नराखी छुट्टै स्थानमा ‘बिक्रीका लागि होइन’ भनेर स्पष्ट लेबल लगाई नियमअनुसार नष्ट गर्नुपर्ने पनि नगरपालिकाले जनाएको छ । यस्तै, दर्ता नभएका, गैरकानुनी रूपमा आयात गरिएका वा प्रतिबन्धित एलोपेथिक, आयुर्वेदिक, हर्बल तथा भिटामिन सप्लिमेन्ट भण्डारण वा बिक्री गरेको पाइएमा तत्काल पसल सिल गरी कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।
नगरपालिकाले वैज्ञानिक आधार र स्वीकृतिविना ‘शतप्रतिशत प्योरिटी’, ‘चमत्कारी इलाज’ जस्ता भ्रामक दाबी गरी औषधिको विज्ञापन वा बिक्री–वितरण गरेमा पनि कानुनी कारबाही हुने स्पष्ट पारेको छ । त्यस्तै, बिना लेबल, दर्ता नभएका वा गुणस्तरहीन जडीबुटी तथा औषधिजन्य सामग्री बिक्री–वितरण गर्न पूर्ण रूपमा रोक लगाइएको छ । नगरपालिकाको संयुक्त अनुगमन टोलीले आकस्मिक निरीक्षण गर्दा उल्लेखित मापदण्डविपरीत गतिविधि भएको पाइएमा दण्ड, जरिवाना तथा व्यवसाय खारेजीसम्मको कानुनी कारबाही गरिने सूचनामा उल्लेख छ । नगरपालिकाले औषधि तथा स्वास्थ्य सेवाको गुणस्तर, सुरक्षा र मर्यादा कायम गर्न व्यवसायीहरूलाई अनिवार्य रूपमा तोकिएका कानुनी मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?