काठमाडौं । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्ध आजदेखि जिल्लाव्यापी खोप अभियान सुरु हुँदैछ । स्वास्थ्य कार्यालय झापाले असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहमा अभियान संचालन गरिने जनाएको छ ।
अभियानअन्तर्गत ३० वर्षमाथिका ४ लाख ८५ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । त्यसका लागि ५ लाख ७० हजार डोज खोप जिल्लामा ल्याइसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र संचालन गरिनेछ । अभियानमा करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र ३ हजारभन्दा बढी स्वयंसेवक परिचालन हुनेछन् ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले जिल्लामा जेई संक्रमण र यसबाट हुने मृत्यु बढेपछि जोखिम न्यूनीकरणका लागि अभियान संचालन गरिएको बताउनु भयो । झापामा हालसम्म १३ जनामा जेई संक्रमण पुष्टि भएकोमा सात जनाको मृत्यु भएको छ । मृत्यु भएका कसैले पनि जेईविरुद्धको खोप नलगाएको कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयले गर्भवती, यसअघि खोप लगाउँदा गम्भीर एलर्जी देखिएका तथा खोपमा प्रयोग हुने कुनै तत्वबाट गम्भीर एलर्जी भएका व्यक्तिले खोप लगाउन नहुने र ज्वरो आएको अवस्थामा भने ज्वरो निको भएपछि खोप लगाउन सकिने जनाइएको छ ।
जापानिज इन्सेफलाईटिस (जेई) मुख्यतः क्युलेक्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । संक्रमित चराचुरुङ्गी वा सुँगुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा संक्रमण फैलिन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?