काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–४ घिम्लेटीमा निर्माणाधीन माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाको निर्माणले गति लिएको छ । हाइड्रो इम्पायर लिमिटेडको प्रवद्र्धनमा निर्माण भइरहेको आयोजनाको विद्युतगृहसहित बाँध, सुरुङ, प्रशारण लाइन तथा अन्य संरचनाको काम एकसाथ अघि बढाइएको छ ।
निर्माण सुरु भएको करिब डेढ वर्षको अवधिमा आयोजनाको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ । सुरुमा ३७ मेगावाट क्षमतामा अघि बढाइएको आयोजनालाई बढाएर ४६.२५ मेगावाट पुर्याउने प्रक्रिया अघि बढाइएको छ ।
आयोजनाको मुख्य सुरुङसहितका भूमिगत संरचना निर्माणमा उल्लेख्य प्रगति भएको छ । यसअघि सार्वजनिक गरिएको विवरणअनुसार ६ हजार ४२५ मिटर लामो मुख्य सुरुङमध्ये ४ हजार २२० मिटर खनिसकिएको थियो । धवलागिरि गाउँपालिका–४ कै सिंकोश दोभानमा बाँध निर्माण भइरहेको छ भने घिम्लेटी अर्थात् खारपानीमा विद्युतगृह निर्माणाधीन छ ।
आयोजना नदीको बहावमा आधारित ‘रन अफ द रिभर’ प्रकृतिको हो । बाँध, इन्टेक र विद्युतगृहबाहेक ग्राभेल ट्र्याप, डिसेन्डर, मुख्य सुरुङ र सर्ज टनेललगायत अधिकांश संरचना भूमिगत बनाइने छन् । घिम्लेटीको आउटलेटदेखि विद्युतगृहसम्म करिब ८४३ मिटर लामो पेनस्टक पाइप जडान गर्ने योजना छ ।
आयोजनाको क्षमता बढाउने क्रममा पानीको उपलब्धता र आयोजनाको प्राविधिक संरचनालाई आधार बनाइएको छ । आयोजनाको ग्रस हेड ३१४ मिटरबाट ३१७ मिटर पुर्याउने तथा डिजाइन डिस्चार्ज १४.४१ घनमिटर प्रतिसेकेन्डबाट १७.२४ घनमिटर प्रतिसेकेन्ड बनाउने गरी क्षमता वृद्धि गर्न लागिएको हो । कम्पनीले यसका लागि थप जग्गा अधिग्रहण वा वन क्षेत्र विस्तार गर्नुपर्ने अवस्था छैन ।
आयोजनाको अनुमानित लागत करिब ८ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ रहेको छ । आयोजनामा बैंक तथा प्रवद्र्धक कम्पनीको लगानी रहेको छ भने प्रभावित क्षेत्रका बासिन्दाका लागि कुल लागतको १० प्रतिशत बराबरको सेयर छुट्याउने व्यवस्था गरिएको जनाइएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् म्याग्दीको डाँडाखेत सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने तयारी छ । यसका लागि करिब १० किलोमिटर लामो १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने योजना रहेको छ । आयोजनास्थलसम्म पहुँच सहज बनाउन करिब १८ किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ ।
निर्माणका क्रममा सुरुङ, बाँध, विद्युतगृह र अन्य सिभिल संरचनासँगै हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामलाई पनि अघि बढाइएको छ । आयोजनाले २०८३ चैतभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।
म्याग्दीमा पछिल्लो समय आएको बाढी, पहिरो र सडक अवरोधले जलविद्युत् आयोजनाका निर्माण सामग्री ढुवानीमा केही असर पारे पनि माथिल्लो म्याग्दी आयोजनाको निर्माणलाई निरन्तरता दिइएको पछिल्लो रिपोर्टमा उल्लेख छ ।
यसरी धवलागिरि गाउँपालिकामा निर्माण भइरहेको माथिल्लो म्याग्दी आयोजना पूरा भएपछि जिल्लाको विद्युत् उत्पादन क्षमता बढ्नुका साथै स्थानीय स्तरमा रोजगारी, पूर्वाधार विकास र आर्थिक गतिविधिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?