नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा कात्तिक १५ गतेदेखि शुल्क तिर्नुपर्ने, कसलाई कति ?
काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ ।
आयोजनाले आज सार्वजनिक सूचना जारी गरेर सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयअनुसार यही कात्तिक १५ गतेदेखि टोल शुल्क उठाउन लागेको हो ।
सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको थियो । सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ । कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडांै प्रवेश गर्दा ६५ र सोही वर्गका सवारीसाधन काठमाडौंबाट प्रस्थान गर्दा भने ६० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, मिनीबस, मिनी टिपर÷ट्रकका लागि काठमाडौं प्रवेश गर्दा १ सय २५ र काठमाडौंबाट प्रस्थान गर्दा ८० रुपैयाँ दस्तुर तोकिएको छ । त्यसैगरी बस, ट्रक (सिंगल रियर एक्सल) सवारीको लागि काठमाडौं प्रवेश गर्दा २ सय ६० र काठमाडौंबाट प्रस्थान गर्दा दुई सय रुपैयाँ दस्तुर तोकिएको छ ।
त्यसैगरी मल्टिएक्सल ट्रक÷सवारीसाधन, भारी उपकरणको लागि काठमाडौं प्रवेश गर्दा ६ सय र काठमाडौंबाट प्रस्थान गर्दा २ सय ५० रुपैयाँ दस्तुर तोकिएको छ । यो सुरुङमार्ग गत साउन ११ गते उद्घाटन गरेर सवारीसाधन परीक्षणका रूपमा सञ्चालन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?